
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफूले जितेका स्थानीय पालिकामा तल्लो वर्गका जनतालाई प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट निर्माण गर्न निर्देशन दिएको छ।
पार्टी अर्थ तथा योजना विभागले शुक्रबार साँझ गरेको भर्चुअल बैठकमा विभाग प्रमुख वर्षमान पुनले पार्टीद्वारा निर्वाचित महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षलाई त्यस्तो निर्देशन दिएका हुन्। संविधानले नेपाललाई समाजवाद उन्मुख राज्य भनेकाले समाजवादका आधार निर्माण गर्ने गरी बजेट बनाउन पुनले निर्देशन दिए।


‘पुँजीवादमा सक्नेले रोजगारी गर्ने, सक्नेले स्वास्थ्य, शिक्षा किन्ने र राम्रो आवाश लिने हो’, पुनले भने, ‘तर, समाजवाद भनेको नसक्नेलाई राज्यले हेर्ने हो। यसमा हामी स्पष्ट हुनुपर्छ।’
तीनवटै सरकारले संविधानको मर्मअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र खाद्य सम्प्रभूताको ग्यारेण्टी गर्ने गरी काम गर्नुपर्ने पुनले उल्लेख गरे। पुनले स्थानीय स्तरमा कृषि उत्पादन वृद्धि, बजार व्यवस्थापन, रोजगारीको अवसर सिर्जना, विपन्नता न्यूनीकरण गरी समृद्धि हासिल गर्ने गरी काम गर्न निर्देशन दिए।
जनताको घरदैलोमा सरकार पुगेको नरुचाउने शक्ति तथा व्यक्तिले स्थानीय सरकार र प्रदेशविरुद्ध प्रचार अभियान चलाइरहेको भन्दै उनीहरुलाई बल पुग्ने गरी भ्रष्टाचार जन्य गतिविधि भए पार्टीलाई सह्य नहुने चेतावनीसमेत पुनले दिए।
सस्तो लोकप्रियताका लागि राज्य श्रोतको परिचालन नगर्न पनि पुनले जनप्रतिनिधिलाई सुझाव दिए। स्थानीय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन उद्योग, व्यवसाय र कृषिमा सहुलियत ब्याजमा ऋण उपलब्ध गराउनुपर्ने पुनको भनाइ छ।
पार्टी जनयुद्धबाट आएकाले जनयुद्धसँग सम्बन्धित कार्यक्रमहरु जनयुद्ध दिवस, घाइते/अपाङ्गको निःशुल्क उपचार, शहीद परिवारलाई राहत र रोजगारी दिनु आफूहरुको दायित्व भएकाले बजेटमा ती विषय नछुटाउन पनि पुनले निर्देशन दिए। यस्तै समग्र लोकतान्त्रिक आन्दोलनका योद्धाहरुलाई केन्द्रित गरेर कार्यक्रम ल्याउन पनि उनले आग्रह गरे।