काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाको बजेटले समग्रमा कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ ।
आईतबार गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले प्रविधिकसहित अलैंची खेतीका लागि फिल्ड निरिक्षण गरेका छन् । गाउँपालिकाको वडा नं. ७ फलाँटेस्थित ठाडो खोलाको दायाँबायाँ रहेको करिब ७० रोपनी जग्गामा अलैंची खेती गर्नका लागि फिल्ड निरिक्षण गरिएको अध्यक्ष भुजेलले बताए ।



आफूहरुले बनाएको यस वर्षको बजेट कृषि, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य सबैलाई समेटेर बनाएको उनको भनाई छ । गाउँपालिकालाई कृषिमा अब्बल बनाउन आफुहरुले प्राविधिकहरु ल्याएर विभिन्न प्रविधि सिकाउने पनि उनले जानकारी दिए । किसानलाई अलैंची खेतीसम्बन्धी पर्याप्त प्राविधिक ज्ञान नभएकाले अलैंचीको व्यावसायिक खेती हुन नसकेको अध्यक्ष भुजेलको भनाई छ ।
गाउँभरि कृषि र पशुपालनमा आकर्षण बढ्दै जान थालेपछि युवासमेत गाउँमै रोकिने अध्यक्ष भुजेल बताउँछन्। अलैँची निर्यातमुखी बाली तथा औद्योगिक बाली भएकाले त्यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने बताउँदै उनले विदेश नगएर गाउँमै गरेको खेतीले पनि मनग्गे आम्दानी गर्न सकिने बताए ।
नेपालको अलैँची भारत हुँदै विभिन्न अन्तराष्ट्रिय बजारमा पुग्ने भएकाले वैज्ञानिक ढंगबाट यसको खेती गरी व्यवसायिकरण गर्न सकेमा आर्थिक गतिविधिमा यसले राम्रो फड्को मार्ने अध्यक्ष भुजेलले बताए ।










