काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताएका छन् । शुक्रबार भारतको ३ दिने भ्रमणका लागि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो भारतको राजनीतिक भ्रमण सद्भावना भ्रमणको रुपमा रहेको बताएका हुन् ।

उनले भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा जान लागेको बताए । उनले भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हीतलाई केन्द्रबिन्दूमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो बनाउने सम्बन्धमा भारतीय सरकार र नेताहरुसँग आफ्नो कुरा हुने उल्लेख गरे ।

अध्यक्ष दाहालले यो भ्रमणका लागि भारतसँग पहिले नै कुरा भएको भन्दै चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमणपछि आफ्नो भारत भ्रमण हुनुमा कुनै सम्बन्ध नभएको स्पष्ट पारे ।

उनले भने, ‘छिमेकी मित्रराष्ट्र भारतको राजनीतिक भ्रमणको लागि जाँदैछु । यो भ्रमण मुख्यतः एउटा सद्भावना भ्रमणको रुपमा रहेको छ । नेपाल राष्ट्र र नेपाली जनताको हीतलाई केन्द्रबिन्दूमा राखेर नेपाल–भारत सम्बन्धलाई अझ राम्रो कसरी बनाउने भन्ने विषयमा मेरो मुख्य रुपमा भारत सरकारका प्रतिनिधि र भारतीय जनता पार्टीका नेताहरुसँग कुरा हुन्छ ।’

उनले थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख आउने र जाने कुरासँग यो जुलाई दोस्रो वा तेस्रो हप्तामा भारतमा औपचारिक भ्रमण गर्ने कुराको कुनै सम्बन्ध छैन म यो कुरा प्रष्ट पार्न चाहन्छु । अनावश्यक कन्फ्युजन कसैलाई नरहोस् भन्ने मेरो नेपाली जनतासँग कुरो छ । मैले शुरुमै भने यो सद्भावना भ्रमणको रुपमा छ ।’

अध्यक्ष दाहालले नेपाल–भारत सीमा समस्याको सम्बन्धमा कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने विषयमा छलफल हुने बताए । नेपालको विकासका लागि द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने, व्यापार सन्तुलनलाई कम गर्ने लगायतको विषयमा पनि छलफल हुने उनको भनाइ छ । उनले द्विपक्षीय हीत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु अगाडि बढाउने कुरा पनि हुने बताए ।

आफ्नो भ्रमण राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा केन्द्रित हुने उनले उल्लेख गरे । उनले भने, ‘नेपाल राष्ट्र र नेपाली जनताको हीतलाई केन्द्रमा राखेर नेपाल भारत सम्बन्धमा विविध पक्षहरुमा चर्चा स्वभाविक रुपले हुने नै छ । मैले विगतमाझै यसपाली पनि नेपालको समग्र विकासको निम्ति द्विपक्षीय स्थितिलाई सुदृढ गर्ने हिसावले, व्यापारको सन्तुलनलाई कम गर्ने विषयमा, इतिहासबाट कतिपय थाँती रहेका विषयलाई कुटनीतिक र सम्वादको माध्यमबाट टुंग्याउने कुरा, सीमानाका विषयलाई पनि त्यसरी नै कुटनीतिक सम्वादद्वारा विश्वासको वातावरण बनाएर टुंग्याउने कुरा लगायत सबै विषयमा पक्कै पनि चर्चा हुन्छ ।’

उनले फेरि भने, ‘दुवै देशको आर्थिक हीत हुनेगरी, द्विपक्षीय हीत हुनेगरी व्यापार र अन्य विकास निर्माणका कामहरु कसरी अगाडी बढाउने भन्ने कुरा पनि स्वभावैले हुन्छ । र समग्रमा यो भ्रमण सद्भावना भ्रमण भएको हुनाले भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी र हाम्रो पार्टी पनि एउटा गठबन्धन भित्रको महत्वपूर्ण पार्टी भएको हुनाले दुई पार्टीका बीचमा एउटा सकारात्मक र सद्भावपूर्ण वातावरण निर्माण गर्ने र त्यसलाई सहयोग गर्ने कुरामा पक्कै पनि यो केन्द्रित हुन्छ । त्यसकारण यो भ्रमण अन्ततः दुवै देशका राजनीतिक नेतृत्व, पार्टीहरु, जनता र दुई देशको सम्बन्ध सुदृढ गर्ने विषयमा नै केन्द्रित हुन्छ ।’

उनले भारत भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्रालयसँग परामर्श लिएको बताए । भ्रमण महत्वपूर्ण भएको उल्लेख गर्दै उनले आफू उत्साहका साथ भ्रमणमा गएको बताए । दाहाल साउन १ गते आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय