काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि ६ करोड ४० लाख रुपैयाँ बराबरको खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । यसअघिकै निरन्तरता दसैँको घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौँ आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ ।
यस वर्ष पनि कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले कुल ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ ।


‘गत वर्षहरूमा जस्तै यस वर्ष पनि दसैँका लागि खसी–बोका र च्याङ्ग्रा ल्याउनका लागि खाद्य कम्पनीले तयारी थालिसकेको छ । खसी–बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले योजना पास गरिसकेको छ । अब सो योजना बोर्डबाट पास भएपछि कार्यान्वयनमा जानेछ’ खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निर्देशक श्रीमणि खनालले भने ।
तत्काल खसी–बोका तथा च्याङ्ग्राको खरिद गरिनेछैन, तर घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी खाद्यले तयारी थालेको छ । तयारी स्वरूप खाद्यले बजारमा खसी–बोकाको खोजी गर्न र मोलमोलाइ हेर्न सम्बन्धित क्षेत्रका कर्मचारीहरूलाई अह्राइ सकेको खनालले बताए ।
यसपटक पनि कम्पनीले खसी–बोका पश्चिम नेपालको दाङ, तुलसीपुर, लहान, लगायत नेपालगञ्ज र केही हेटौँडाबाट समेत खरिद गर्ने तयारी गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाटै ल्याउने तयारी कम्पनीको छ । एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको खाद्यले यस वर्ष च्याङ्ग्रामा धेरै मूल्य तिर्नुपर्ने आङ्कलन गरेको छ ।
‘च्याङ्ग्राको मूल्य बढी छ । फेरि मुस्ताङबाट काठमाडौँसम्म ल्याउनुपर्ने हुँदा ढुवानी खर्च समेत बढ्ने हुँदा केही महँगो पर्ने हो की भन्ने हामीलाई लागेको छ । तैपनि यस वर्ष खसी–बोकासहित च्याङ्ग्रा पनि ल्याउँछौँ’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन् । गत वर्ष कोरोना महामारीकाबीच आंशिक प्रभावका कारण खाद्यले च्याङ्ग्रा ल्याउन सकेको थिएन ।










