काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि शासन व्यवस्था फेर्न सडकमै जाने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित ‘समाजवादको नेपाली मार्गचित्र’ विषयक विचार गोष्ठीमा बोल्दै अहिलेको निर्वाचन प्रणालीलाई कामयै राखेर भ्रष्टाचारमुक्त समाजको परिकल्पना सम्भव नभएकाले आन्दोलनमा जाने घोषणा गरेका हुन्।


प्रचण्डले भने, ‘निर्वाचन प्रणालीले दलाल र भ्रष्टहरूलाई नै अगाडि ल्याउँछ। चुनाव जित्न पैसा चाहिन्छ। पैसा दलाल र नोकरशाहसँग हुन्छ। त्यसैले उनीहरू नै चुनाव जितेर आउँछन् नभए नेताहरूनिरीह हुनुपर्छ। जसले भ्रष्टाचारमा नेताहरूलाई पनि धकेल्छ।’
संसद् विघटन हुँदा सडकको घेराबन्दीकै कारणले पुन:स्थापना भएको उनले दाबी गरे। चोलेन्द्रले संसदीय समितिको बयानमा सो कुराको स्वीकार गरेको उनको भनाइ छ। त्यसको नेतृत्व आफूले नै गरेको दाबी गरे।
उनले भने, ‘अहिले विकृति र भ्रष्टाचारलाई अन्त्य गर्न नेपालका छिट्टै आन्दोलन हुन्छ। हेरिरहनुहोला चुनावपछि म सडकमा जान्छु। समाजवादमा जाने जुन परिकल्पना मैले गरेको छु त्यसका लागि यो मेसिनरी बदल्न जरुरी छ। हामीबाहेक अरूले गर्न सक्दैनन्, अरूले गर्ने आन्दोलन त प्रतिगमन नै हो।’
समाजवाद मार्गचित्र तयार गर्नका लागि जनताको साथमा सडकमा जानुको् विकल्प नभएको उनको भनाइ थियो।










