काठमाडौँ । सम्भवतः नेपाली खेलकुद क्षेत्रमा सर्वाधिक बढी स्टारडम कसैको छ भने राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेकै छ । यिनै सन्दीप अहिले आफ्नो करिअरको सर्वाधिक उच्च फर्ममा रहेका छन् ।

२२ वर्षीय सन्दीपसँग नेपाली राष्ट्रिय टिमले ठूलो अपेक्षा गरेको छ । उनको प्रगतिसँगै नेपाली क्रिकेट पनि उँभो लाग्ने आँकलन गर्नेको कमी छैन् । तर तिनै सन्दीपलाई अहिले एक किशोरी बलात्कारको गम्भीर आरोप लागेको छ ।

सन्दीपविरुद्ध बलात्कारको उजुरी परेको २४ घण्टा बितिसकेको छ । तर अहिलेसम्म कप्तान सन्दीपले आफ्नो आधिकारिक धारणा सार्वजानिक गरेका छैनन्। उनी अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि वेस्ट इन्डिजमा छन् । तर एक खेलाडी खेलमा जति चतुर हुन्छ । त्यति नै इमानदारीको कसीमा खरो उत्रिन जरुरी हुन्छ ।

सन्दीपले जस्तै क्यानले पनि आधिकारिक रूपमा कुनै भनाइ सार्वजानिक गरेको छैन् । तर उसले प्रहरीलाई छानबिनमा आवश्यक सहयोग गर्ने बताएको छ । तर आधिकारिक रूपमा प्रहरीको छानबिनपछि दोषी ठहर नभएसम्म कुनै पनि कारबाही प्रक्रिया तत्काल नचलाउने भनेको छ । यसको अर्थ क्यान सन्दीपको बचाउमा अप्रत्यक्ष रूपमा लाग्ने पक्का छ ।

कस्तो छ अन्तर्राष्ट्रिय नजिर ?
त्यसो त स्टार खेलाडीमाथि यस्ता आरोप लाग्नु अन्तर्राष्ट्रिय खेलकुदमा नौलो होइन तर नेपाली परिप्रेक्ष्यमा भने नयाँ घटना हो । त्यसमा पनि बालिका बलात्कारको आरोप झनै संगीन हो ।

अन्तर्राष्ट्रिय खेलकुदमा क्रिस्टियानो रोनाल्डोदेखि टाइगर उड्ससम्मले बलात्कार आरोप फेस गरिसकेका छन् । डियोगो म्यारोडोनालाई मृत्युपछि यो आरोप लाग्यो ।

समग्रमा स्टार खेलाडी खेलमा जति तेज हुन्छन् उनीहरुको व्यक्तिगत जीवन भने भयानक हुन्छ । बलात्कारको आरोपसँगै सन्दीप स्टारडमको(क्रेज) जोगाउन असफल मात्र होइन कतै जघन्य अपराधको भागीदार हुने त होइन भन्ने प्रश्न उठेको छ ।

अन्तर्राष्ट्रिय अदालतहरूमा खेलाडीले गरेको यौन दुर्व्यवहारको मुद्दा खोतल्दा चाङ भेटिन्छन् । तर दोषी ठहर भएर जेल नै बसेका केस नगण्य छन् । त्यसैले सन्दीपविरुद्ध लागेको आरोप नेपालका लागि मात्र होइन अन्तर्राष्ट्रिय रूपमा नै ‘हट’बनेको छ । जुन स्वाभाविक पनि छ ।

क्यानको दायित्व
आफ्ना कप्तानविरुद्ध स्वाभाविक रूपमा आवाज उठेपछि र त्यसमा पनि ‘क्लोज क्याम्प’को समयमा नै होटल बाहिर गएको र किशोरीसँग रात बिताएको कुरा सार्वजानिक हुनासाथ क्यानले उनले क्लोज क्याम्प छोडेको हो कि होइन ? हो भने उनले के भनेर बाहिरिएका थिए, या नभनी बाहिरिएका थिए, लगायत विषयमा प्रष्ट पार्नुपर्ने हो ।

बलात्कारको विषयमा क्यान मौन रहन सक्छ तर एक कप्तानले आफ्नो अनुशासन उल्लंघन गरे या नगरेको विषयमा स्पष्ट पार्नु पर्ने दायित्वबाट पन्छिन मिल्दैन । अझ बलात्कार जस्तो जघन्य आरोपलाई सामान्यीकरण गर्ने जुक्ति निकाल्नु क्यानका लागि समेत घातक हुने छ । त्यसैले सार्वजानिक रूपमा क्यानले सन्दीपबारे धारणा सार्वजानिक गर्न जरूरी छ ।

सन्दीप आफै पनि बोल्ने कि ?
राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा यत्रो आवाज उठेपछि सन्दीपले आफैँ प्रष्टीकरण दिनु पर्छ । यदि उनि नैतिक रूपमा बलियो हुने हो भने आवश्यक अनुसन्धानलाई सहयोग गर्न भन्दै सीपीएल छाडेर नेपाल फर्किनु पर्छ ।

यसले उनको ‘हाइट’ घटाउने होइन बढाउने छ, यदि निर्दोष सावित भएमा । तर मौन बसेमा बजारमा चल्ने तमाम हल्लाले सत्यता पाउने खतरा हुने छ। यदि सहमतिमा नै शारीरिक सम्पर्क भएको हो भने पनि उनले सार्वजानिक रूपमा स्वीकार्नु पर्छ र कानुनअनुसार सजाय भोग्न तयार हुनु पर्छ । साथै तत्काल राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिनु पर्छ ।

सन्दीपलाई अपराधी करार गरिनु दुर्भाग्य
कसैको करिअर सकाउन आरोप जोसुकैले जोसुकैलाई लगाउने गरेको नजिर हाम्रै समाजमा विद्यमान छ । तर केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सन्दीपलाई बलात्कारीको दर्जामा राखेर भैरहेका कमेन्टहरूले झनै उच्छृङ्खलता बढाउने छ ।

यसले सन्दीपलाई अदालत नपुग्दै दोषी देखाउने होड दुर्भाग्यपूर्ण छ । उनी दोषी देखिए स्वाभाविक रूपमा कानुनी कारबाहीको भागिदार बन्नु पर्छ तर निर्दोष देखिएमा यो बिचमा उनले गुमाएको मूल्यको क्षतिको आँकलन गर्न सकिँदैन ।
थाहाखबरबाट

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय