काभ्रे । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि काभ्रे जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ र यस अन्तर्गतको प्रदेश सभाको लागि गठबन्धनको तर्फबाट उम्मेदवारहरूको टुङ्गो लगाएको छ । नेपाली काँग्रेस र माओवादी केन्द्रको भागमा परेको यस क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको हो ।
यस अघि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा माओवादी, सो क्षेत्र अन्तर्गत प्रदेश सभा (क) मा पनि माओवादीले र (ख) मा भने काँग्रेसले पाउने सहमति भएको थियो ।


जस अनुसार प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ (लालध्वज) गठबन्धनको साझा उम्मेदवार बनेका छन् । माओवादी केन्द्रको प्रभावशाली नेताको रूपमा स्थापित भएका लालध्वज प्रतिनिधि सभा पुनर्स्थापना हुँदा माओवादीको तर्फबाट सांसद बनेका थिए । २०६४ सालको संविधान सभाको निर्वाचनमा अत्यन्तै लोकप्रिय मत ल्याएर विजयी भएका उनी ऊर्जा राज्य मन्त्री समेत भएका थिए ।२०७० सालको संविधान सभाको निर्वाचनमा भने पराजित भएका थिए ।
प्रदेश निर्वाचन क्षेत्र क माओवादीको भागमा परेको छ । जसमा माओवादीले रत्न ढकाललाई टिकट दिने निर्णय गरेको छ । उनी यसअघि यही क्षेत्रबाट निर्वाचित बनेका थिए । ढकाल हाल बागमती प्रदेशको युवा तथा खेलकुदमन्त्री छन् ।
प्रदेश निर्वाचन क्षेत्र ख भने कांग्रेसको भागमा परेको छ । जसमा कांग्रेसले तिर्थ लामालाई टिकट दिने भएको छ । लामा कांग्रेसका काभ्रे जिल्ला सभापति समेत हुन् ।२०७० सालको संविधान सभाकोनिर्वाचनमा उनी निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा भने पराजय व्यहोरेका थिए ।










