
बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई तामाङ र नेपाल भाषा सरकारी कामकाजका रूपमा कार्यान्वयन गर्न ज्ञापनपत्र बुझाइएको छ । नेपाल तामाङ घेदुङ र नेवाः देय दबुका प्रतिनिधिले प्रदेशको राजधानी हेटौंडा पुगेर मुख्यमन्त्री पाण्डेलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषालाई भाषा आयोगले सिफारिस गरिसकेकाले यसको कार्यान्वयन गर्नुपर्ने ती संस्थाको माग छ । नेपाल तामाङ घेदुङबाट उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ र नेवाः देय दबुका अध्यक्ष नरेश ताम्राकारसहितको टोली हेटौंडा गएको हो ।


घेदुङका उपाध्यक्ष घिसिङले गत भदौ २१ गते नेपालमा बोलिने ११ वटा भाषालाई भाषा आयोगले सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याउन सिफारिस गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयनका लागि आफूहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए ।
उनका अनुसार सभामुख सानुकुमार श्रेष्ठसमक्ष पनि ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री पाण्डेले सरकारको नीति तथा कार्यक्रममै यो विषय समावेश गरिसकेकाले छिटै कानुन बनाएर कार्यान्वयन गर्ने आश्वासन दिएको घिसिङले जानकारी दिए ।
भाषा आयोगले २०६८ सालको जनगणनाअनुसार वक्ताको संख्याका आधारमा विभिन्न प्रदेशमा ११ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गरेको छ । जसमा तामाङ, नेपाल भाषा, मैथिली, मगर, गुरुङ, भोजपुरी, बज्जिका, थारू, गुरुङ, डोट्याली र अवधी छन् ।