ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएकी छिन्।
वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ को उम्मेदवारका रुपमा आज साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले राजनीतिक उपलब्धिको संरक्षणका लागि संयुक्त सङ्घर्ष जारी राख्दै समुन्नत आर्थिक–सामाजिक विकासको महाअभियान सञ्चालन गर्नुपर्ने बताईन् ।


नयाँ संविधान कार्यान्वयनमा आइसकेपछि आर्थिक समृद्धिका महत्वपूर्ण आधार तयार भएको जनाउँदै उनले ऊर्जा उत्पादनमा नेपाल आत्मनिर्भरतातर्फ अगाडि बढेको र स्वच्छ ऊर्जाको निर्यात गर्ने अवस्थामा पुगेको बताईन्। “भौतिक पूर्वाधार, शैक्षिक एवं स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन भई जनताको जीवनस्तरमा केही सुधार आएको छ, यस्ता कार्यक्रमलाई अझ प्रभावकारी एवं गुणस्तरीय तुल्याई आर्थिक आधार सबल गर्नु हामी सबैको दायित्व हो”, उनले भनिन् “समृद्ध मुलुक, सम्पन्न नेपालीको सपना साकार गर्ने हाम्रो लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन जरुरी छ ।”
आसन्न निर्वाचनमार्फत जनअनुमोदित भएर राष्ट्रिय राजनीतिमा ललितपुरका जनताको प्रतिनिधित्व गर्ने दौडमा रहेको जनाउँदै उनले सदा झै अझ प्रभावकारी र सशक्त तथा सेवामैत्री, प्रगतिउन्मुख र स्वाभिमानी जनप्रतिनिधिका रुपमा आफूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाईन। ललितपुरको कला, संम्पदा, संस्कृति र परम्परालाई यहाँको हरेक घर परिवारको आर्थिक उपार्जनसँग जोड्नुपर्नेमा जोड दिँदै उनले आगामी पाँच वर्षभित्र ललितपुरवासीको गुणस्तरीय जीवन जीउने आधार तयार हुने दाबी गरे।










