
मन्त्री हुमागाईं समक्ष किसानको ११ बुंँदे माग
काठमाडौ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बसुन्धरा हुमागाईंले दुग्ध उत्पादक किसानलाई उत्पादन र पशु संख्याका आधारमा अनुदान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार चितवन दुग्ध उत्पादक सहकारी संस्थाले आयोजना गरेको स्वागत तथा अन्तरक्रियामा मन्त्री हुमागाईंले सो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
मन्त्री हुमागाईंले अनुदान एकद्वार प्रणालीमार्फत लगिने र कृषि अनुदान वास्तविक किसानले पाउन नसकेकाले सबैमा अनुदान पुर्याउन र राज्यकोे अनुभूति गराउन पनि सो प्रणाली स्थापित गर्न लागेको र अनुदान दुरुपयोग गर्ने जोसुकैलाई पनि कारबाही गरिने बताए ।


‘हामीले प्रदेशका ९० प्रतिशत किसानले अनुदान पाउने गरी ऐन, कानुन तथा कार्यविधि तयार गरेका छौं,’ उनले भने, ‘अनुदान पनि सीधै किसानको खातामा जाने व्यवस्था गर्दैछौं, चाहे किसान या कर्मचारी हुन् अनुदान दुरुपयोग गर्नेलाई अब कारबाहीको दायरामा ल्याउंँछौं ।’
उनले छिट्टै नै चितवनका लागि पशु एम्बुलेन्स व्यवस्था गरिने र एक वर्षभित्र प्रत्येक वडामा पशु उपचार सेवा केन्द्र स्थापना गर्न प्रदेश सरकार लागिरहेको बताए ।
मन्त्री हुमागाईं समक्ष किसानको ११ बुंँदे माग
कार्यक्रममा मन्त्री हुमागाईं समक्ष चितवनका दुग्ध किसानले कृषक परिचयपत्र र वर्गीकरण गर्नुपर्ने माग गरेका थिए । उनीहरूले अन्य क्षेत्रलाई राज्यले सुविधा दिएको तर आफूहरू सेवासुविधाबाट बञ्चित रहेको भन्दै गुनासो समेत गरे । त्यस्तै उनीहरूले मन्त्री हुमागाईं समक्ष अस्पताल, शिक्षालगायतमा छुटको व्यवस्था गर्नसमेत माग गरेका छन् ।
उनीहरूले यी लगायत ११ बुंँदे माग मन्त्री हुमागाईंसँग राखे । चितवन दुग्ध सहकारी संस्थाका सचिव किशोर बगालेले हरेक दिन ३ लाख लिटरभन्दा बढी दूध उत्पादन गर्ने जिल्लालाई प्राथमिकतामा राख्न माग गरे ।
जिल्लामा पशु एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, प्राविधिक सेवा निःशुल्क गर्नुपर्ने, किसानका छोराछोरीलाई उच्च शिक्षाका लागि छुट र सहुलियत दिनुपर्नेलगायत मागहरू उनले राखेका थिए । सहभागी किसानले वास्तविक किसानभन्दा गैरकिसानले अनुदानको फाइदा लिएको भन्दै यथाशीघ्र किसान परिचयपत्र र किसानको वर्गीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।
किसानहरुले कृषिमा आधुनिकीकरण वैज्ञानिकीकरण हुनुपर्ने भन्दै उत्पादन र उत्पादकत्व बढाउन उन्नत जातको ‘सिमेन’ ल्याउनुपर्ने र एउटै गाईबाट दैनिक ३०-५० लिटर दूध उत्पादन बढाउनुपर्नेमा जोड दिए ।