काठमाडौं । काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचित हुनुभएका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू संसदीय दलको निर्वाचनमा जुट्ने बताएका छन्। उनले यो निर्वाचनबाट मतदाताले तेतृत्वप्रति आक्रोश देखाएको मात्र नभइ नयाँ नेतृत्वको अपेक्षासमेत गरेको बताए।
“मतदाताले स्थिर सरकार मात्र खोजेको होइन, नेपाल हाक्ने नयाँ चालक पनि चाहेको छ । त्यो चालक नेपाली कांग्रेसले दिनसक्छ । कांग्रेसले नै अन्य पार्टीलाई एकताबद्ध बनाएर नयाँ नेतृत्व लिन तयार छ” महामन्त्री थापाले भने, “आम जनतालाई पनि विस्वस्त तुल्याउन चाहन्छु, निर्वाचन अभियान सकिएपछि अब म आजैदेखि कांग्रेस संसदीय दलको चुनावका लागि तयारीमा जुट्छु ।”अहिले गठबन्धन गरिरहेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले चुनावपछि पनि सहकार्य जारी राख्नेमा आफू आशावादी रहेपनि चुनावी अन्तिम नतिजाले त्यसको निक्र्योल गर्ने थापाको प्रतिक्रिया थियो ।


त्यसैगरी नागरिकका अपेक्षा पूरा गर्न नसक्दा अहिले मतदाताले आक्रोश पोखिरहेको पनि उनको भनाइ थियो । “हामीले गरेको वाचा पूरा हुन सकेका छैनन् । हामी पाँच वर्षका लागि निर्वाचित भए पनि व्यवहारिक हिसाबले पाउने समय भनेको पाँच महिना मात्रै हो,” थापाले भने, “म मतदाताको ऋणी छु । जुन विश्वासका साथ मलाई मतदान गराए , त्यसमा ठेस लाग्ने र आघात पुग्ने काम गर्नेछैन । दिनरातको मेहनतबाट आजभन्दा भोलि राम्रो हुने अवस्था बनाउनुपर्ने छ ।”










