ललितपुर । तामाङ पत्रकार संघ(एटीजे) ललितपुर शाखाले संस्थाको १९ औं स्थापना दिवस मनाएको छ। मंसिर २१ गते बुधवार ललितपुरको लगनखेलमा रहेको अशोक स्तुपामा अन्तर्क्रिया तथा दिप प्रज्वलन गरी एटीजेको स्थापना दिवस मनाएको हो।
वाग्मती गाउँपालिकाका सामाजिक विकास शाखा संयोजक तथा वडा नं ४ वडाध्यक्ष रामकुमार थिङ तामाङको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको हो। कार्यक्रममा वडाध्यक्ष थिङले मातृभाषामा कलम चलाएर तामाङ समूदायको समस्यालाई तामाङ पत्रकारहरुले उठान गरेकोमा प्रशंसा गरे। उनले ललितपुर जिल्ला खास गरी क्षेत्र १ मा तामाङ समुदायको बाक्लो बस्ती रहेको उल्लेख गर्दै छरिएर रहेका तामाङ समुदायलाई एकीकृत गर्ने महत्त्वपूर्ण भूमिका तामाङ पत्रकारहरुले खेलेको जनाए।


‘खासगरी म रहेको वडा तथा वाग्मती गाउँपालिकाले समृद्ध वाग्मती, सुखी वाग्मती अभियान बनाउन तयार पार्दैछौं,’ वडाध्यक्ष थिङले भने, ‘यसमा तामाङ पत्रकार संघले धेरै सहयोग गरेको छ।’ उनले तामाङ पत्रकारको क्षमता विकासका लागि सहकार्य गर्नसमेत आफ्नो वडा तयार रहेको वचन दिए।
संघका जिल्ला अध्यक्ष प्रकाश थिङ तामाङले एटीजेको परिचय र उद्देश्यबारे जानकारी गराएका थिए। २०६१ मंसिर २१ गते तामाङ सञ्चार समूहको नामबाट सुरु भएको यो संस्थाको पछि नाम परिस्कृत गर्दै तामाङ पत्रकार संघ भएको हो। एटीजेको हाल दुई प्रदेश कार्यसमिति, २२ जिल्ला कार्यसमिति र एक प्रवास कार्यसमिति रहेका छन्।
एटीजे ललितपुरका सम्पूर्ण कार्यसमिति उपस्थित कार्यक्रम शाखाकी सचिव शुसी थिङ तामाङले सञ्चालन गरेकी थिइन्।










