काभ्रे । जिल्लाको पनौती नगरपालिकाले मकर मेला अवधिभर नगर क्षेत्रभित्र अन्य कुनै प्रकारका धार्मिक कार्यहरु नगर्न निर्देशन दिएका छन् । नगरपालिकाले सूचना जारी गर्दै माघ महिनाभर लाग्ने मकर मेलालाई व्यवस्थित बनाउनु पर्ने भएकोले सो अवधिभर अन्य धार्मिक कार्य नगर्न निर्देशन दिएका हुन् ।
नगरपालिका प्रमुख भिम न्यौपानेले पनौतीको धार्मिक तथा साँस्कृतिक महत्व बोकेको मकर मेलालाई व्यवस्थित बनाउन पर्ने भएकाले सो अवधीभरको लागि धार्मिक तथा अनुष्ठानका कार्य गर्दा नगर्न आग्रह गरेको बताए ।
उनले भने, ‘मकर मेलाको लागि नगरपालिकाले कुनै कसर बाँकी नराखी खटिरहेको सन्दर्भमा अन्य धार्मिक कार्य हुँदा असर पुग्न सक्ने अवस्थालाई मध्यनजर गरी अन्य अन्य धार्मिक कार्य नर्गन अनुरोध गरेको हो ।’
नगरप्रमुख न्यौपानेका अनुसार मेलाको अवसर पारेर नगरको अनुमति नलिई धार्मिक तथा अनुष्ठानका कार्य र सहयोग संकलनको नामका विभिन्न कार्य हुन थालेपछि नगरपालिकाले सुचना जारी गर्दै सो कार्य रोक्न लगाएको जानकारी दिए ।
नगरपालिकाले जारी गरेको सुचनामा यदि धार्मिक तथा अन्य संघसस्थाले धार्मिक अनुष्ठानका कार्य र सहयोग संकलन गर्नुपरे नगरपालिकाबाट अनुमति लिएर मात्रै गतिविधि अगाडी बढाउन भनिएको छ । तर सूचनाको वेवास्ता गरी कार्यक्रम सञ्चालान गरेमा नियन्त्रण गर्ने नगरपालिकाले चेतावनी समेत दिएका छन् ।