
होटलमा बस्नेलाई कोठा र खानेकुरामा २५ प्रतिशत छुट
काभ्रे । नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशन पौष २३ गते जिल्लाको पर्यटकीय क्षेत्रमा धुलिखेलमा हुँदै छ । अधिवेशनलाई विशेष सम्बोधन गर्न प्रमुख अतिथिको रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भएपछि एमाले काभ्रेले जिल्लाभरीबाट ५० हजार मानिस उतार्ने गरी तीव्र तयारीमा जुटिरहेका छन् ।
क्षेत्रीय होटल संघ काभ्रेले सो अधिवेशनको अवसर पारेर होटलमा बस्नेहरुका लागि कोठा तथा खानेकुरामा २५ प्रतिशत छुटको व्यवस्था गर्ने निणर्य गरेका हुन् । कोरोनाले चिन्तित धुलिखेलका होटल व्यवसायीहरु पनि एमालेको जिल्ला अधिवेशनलाई होटल-पर्यटनमा बदल्ने कोसिसमा छन् ।


क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले धुलिखेलमा हुन लागेको एमालेको जिल्ला अधिवेशन होटल व्यवसायीहरुको लागि पनि राम्रो अवसर भएकाले आकर्षक छुटको व्यवस्था गरेको बताए । उनले आन्तरिक पर्यटकलाई स्वागत गर्न आफूहरु तयारी अवस्थामा रहेको बताए ।
‘नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले होला धुलिखेलमा विदेशी पाहुना आउन छाडिसके, हाल आन्तिरिक पर्यटक मात्रै धुलिखेल आउँछन्,’ उनले भने, ‘कोरोनाले होटल ब्यवसाय थप धरासायी बनाएपछि त्यसलाई पुनः चलायनम बनाउनको लागि अधिवेशनको मौकालाई सदुयोग गर्न लागेको हो ।’
त्यस्तै क्षेत्रीय होटल संघ धुलिखेलको सचिव जोत्सना सैंजूले एमालेको जिल्ला अधिवेशनले आन्तरिक पर्यटनमा बृद्धिसँगै धुलिखेलको थप प्रचार हुने भएकाले क्षेत्रीय संघले कोठा तथा खानेकुरामा २५ प्रतिशतको छुट दिने निणर्य गरेको बताईन् ।
‘कोरोनाको कारणले थलिएको होटल व्यवसायलाई उकास्न धुलिखेलमा हुने एमालेको अधिवेशनले केही राहत मिल्ने आशा गरेको छ’, उनले भनिन्, ‘हामीले चितवनमा सम्पन्न एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको जस्तै एमाले काभ्रेको जिल्ला अधिवेशनलाई पनि विशेष रुपमा हेरिहेको हुँदा २५ प्रतिशत छुट दिने निणर्य गरेका हौँ ।’
पर्यटकयस्थल धुलिखेलमा ठूलासाना गरी करिब ६० होटलमा एक हजार बेड क्षमता छन् । धुलिखेलको होटल-पर्यटनमा मात्रै करिब ५० अर्बको लगानी रहेको संघले जनाएको छ । पर्यटकीयस्थल धुलिखेल संघीय राजधानी काठमाडौँबाट करिब ३० किलोमिटरको दूरीमा अवस्थित छ । गत साउन महिनादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा अंग्रेजी नयाँ वर्षमा होटल बुकिङले उत्साह थपिए पनि पुनः पर्यटकको अगमन कम हुँदै गएपछि धुलिखेलका व्यवसायी होटल व्यवसायीहरु चिन्तित् छन् ।
जसले गर्दा होटल व्यवसायीहरु एमालेको जिल्ला अधिवेशनलाई अवसरको रुपमा सदुपयोग गर्ने दाउमा देखिन्छन् । कोरोना महामारीकै कारण होटल-व्यवसाय धरासायी हुँदा धुलिखेलका चार होटल बन्द भइसकेको छ । कोरोना कहरपछि बाह्य तथा आन्तरिक पर्यटकबाट आत्मनिर्भरतातर्फ सारेको धुलिखेलको होटल-पर्यटन कोरोनाले निकै प्रभावित बनाएको देखिन्छ ।
होटल व्यवसायी संघले कोभिड-१९ का कारण पर्यटन क्षेत्रले बेहोरिरहेको क्षति न्यूनीकरण गर्न र पूरा नै लयमा फर्काउन ‘कल्चर एण्ड नेचर’, ‘फिलिङ सुरपरम्यान’ र ‘तीनधारे झरना’ लगायतका विशेष प्याकेजकोसमेत घोषणा गरेका थिए । तर दोस्रो लहरको कोरोनाले त्यसलाई पनि पुरा हुन दिएनन् ।