
धुलिखेल, काभ्रे । जिल्लाको धुलिखेल नगरपालिका-२ रविओपीमा सुत्केरी महिला तथा बच्चालाई पौष्टिक आहार र न्यानो कपडा वितरण गरेको छ ।
विहिबार उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत रविओपी स्वास्थ्य चौकीमा पुगेर धुलिखेल नगरपालिकाका उपमेयर बिमला कुमारी शर्माले सुत्केरी महिला तथा बच्चालाई पोसिलो खानेकुरा र न्यानो कपडा वितरण गरेको हो । उनले सुत्केरी महिला र बच्चालाई न्यानाे कपडासँगै सुत्केरी मसला, घ्यू , च्यवनप्रास लगायतका पोसिलो खानेकुरा दिएका छन् ।


उपमेयर शर्मा आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिंगो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर उपमेयरसँग महिला कार्यक्रमको प्रारम्भ गरेको समेत जानकारी दिइन् ।
वडा अध्यक्ष देब प्रसाद काेइरालाले कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको बताए । यो कार्यक्रमले निकै महत्वपूर्ण सन्देश दिएको छ भने त्यतिकै मात्रामा सचेत बनाएको उनको भनाइ छ ।
त्यस्तै वडा सदस्य गंगा विश्वकर्माले आमा र बच्चाको सुरक्षित स्वास्थ्यका लागि उपाध्यक्षसँग महिला कार्यक्रम लाभदायक भएको प्रतिक्रिया दिइन् ।
रविओपीका सुत्केरी महिलाहरु आँगनमै पोसिलो कोसेली पाउँदा निकै खुसी देखिन्थे । एक सुत्केरी महिलाले स्थानीय सरकारले सञ्चालन गरेको उपमेयरसँग महिला कार्यक्रम निकै प्रभावकारी भएको बताइन् ।
उनले भनिन्, ‘सधैंभरि सरकारले पोषण कोसेली दिन सक्दैन । तर पोषण कोसेली दिएर आगामी दिनमा पोसिला खानेकुरा खान प्रेरित गरेको छ ।’
पोषण कोसेली लिएर उपाध्यक्ष शर्मा गाउँगाउँ पुग्ने गरेकी छिन् । सो अवसरमा उनले अपरिपक्क उमेरमा विवाह नगर्न, सानै उमेरमा विवाह गरेर बच्चा नजन्माउन सुझाव दिने गरेकी छिन् ।