
काभ्रे । जिल्लाको विभिन्न स्थानमा संचालित व्यवसायीहरुलाई गुण्डा गर्दी शैलीमा धम्क्याउने तथा कुटपिट गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी तथा सूचना अधिकारी हरि खतिवडाले उद्योगी तथा होटल व्यवसायीहरुबाट प्राप्त गुनासोको आधारमा कार्यालयबाट खटिएका प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।


डिएसपी खतिवडाका अनुसार पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नं ५ स्थित चौकोट बस्ने ३२ वर्षीय ज्वाला भनिने कृष्ण राम महत र खानीखोला गाउँपालिका वडा नं ७ बस्ने २८ वर्षीय मम भनिने दिनेश गोले रहेका छन् ।
पक्राउ परेका महतले जिल्लाको बनेपा, धुलिखेल पनौती क्षेत्रका व्यवसायीलाई गुण्डा गर्दी शैलाीमा धम्क्याउने तथा कुटपिट गर्ने र गोलेले पनौती क्षेत्रमा गुण्डा गर्दी शैलीमा व्यवसायीलाई धम्क्याउने तथा स्थानीयहरुको दैनिक कार्यमा अवरोध पुर्याउने गरेको पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
पक्राउ गरिएका उनीहरुलाई ‘मुलुकी अपराध संहिता २०७४’ को परिच्छेद ५ को सार्वजनिक हित स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्ध सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय काभ्रेबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।