
काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन आज अर्थात् शुक्रबार गर्दै छ । प्रदेश २ का सातसहित १६ जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ ।
यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन् ।


कार्यालय सचिव डा भीष्म अधिकारीले ओलीले आजै काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
‘केही हिमाली जिल्लाहरूमा बाहेक अन्यमा स्थानमा भूगोलतर्फको जिल्ला कमिटीको अधिवेशनमा आज एकैपटक हुनेछ । अध्यक्षले केन्द्रीय कार्यालयबाट भर्चुअल्ली उद्घाटन गर्नु हुनेछ’ अधिकारीले भने, ‘केही जिल्लाले प्रतिकुल मौसमी अवस्थाको कारण अहिले अधिवेशनमा गर्न सकिने छैन् ।’
एमाले र माओवादी केन्द्रबीच भएको एकतापछि निष्कृय रहेको जिल्लालाई एकैपटक अपडेट गर्नका लागि एकै मितिमा अधिवेशन गर्न लागेको अधिकारीले बताए ।
मंसिर अन्तिम साता भएको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । एमालेको भूगोलतर्फ ७७ वटा जिल्ला कमिटी रहेका छन् । यस्तै एमालेले माघ ८ गते प्रदेश अधिवेशन गर्दै छ । यस्तै अखिल नेपाल किसान महासंघ राष्ट्रिय सम्मेलन २०७८ फागुन २८ गते रौतहटमा गर्ने छ ।
महासंघको माघ २८ मा जिल्ला र फागुन १ देखि ७ सम्म प्रदेश अधिवेशन गरिसक्ने छ । एमालेले मंसिर १० देखि १४ गतेसम्म राष्ट्रिय महाधिवेशन गरेको थियो ।
१६ जिल्लामा अधिवेशन स्थगित
एमालेको १६ जिल्लामा अधिवेशन स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले ६१ जिल्लाको अधिवेशन भने भर्चुअल माध्यमबाट उद्घाटन गर्ने भएका छन् । पार्टीका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन स्थगित भएको हो ।
सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको छ । त्यस्तै संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।
रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको प्रचार विभागको भनाइ छ ।
रिजालका अनुसार मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन हुने छैन् ।