काभ्रे । नेकपा (माओवादी केन्द्र) पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सुर्यमान दोङ (लालध्वज)ले प्रधानमन्त्री तथा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दालाह ‘प्रचण्ड’ असफल हुँदा जनयुद्ध र जनअन्दोलनको जगमा आएको व्यवस्था नै असफल हुने बताए । शनिबार काभ्रेको धुलिखेलस्थित् प्रेस सेन्टर नेपाल काभ्रेको पहिलो साधारण सभा तथा सहिद सप्ताह कार्यक्रममा सो कुरा बताएका हुन् ।

उनले प्रचण्डलाई असफल बनाउने खतरा भइरहेको जिकिर गरे । नेकपा एमालेका सचेत नेताहरुले राष्ट्रपतिको निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिनु पर्ने बताए । पुर्व उर्जा राज्यमन्त्री समेत रहेका दोङले सुवास नेम्वाङलाई मत दिँदा खेर जाने र रामचन्द्र पौडेलको जित सुनिश्चित रहेका दाबी गरे । केपी ओलीले हार्ने देखिएपछि नेम्वाङलाई उठाएर उनको राजनीति सकाउनतिर लागेको आरोप लगाए ।

‘एमालेका सचेत नेताले रामचन्द्रलाई भोट दिनुपर्छ, सुवास नेम्वाङ मत दिँदा खेर मात्रै जान्छ,’ उनले भने, ‘केपी ओलीले हार्ने देखिएपछि नेम्वाङलाई उठाएर उनको राजनीति सकाउनतिर लागे । तर त्यो नेम्वाङ र एमालेका सचेत नेताले बुझ्न सकेन ।’

नेता दोङले देशमा व्यवस्था बदले पनि राज्य सञ्चालनको संरक्षण बदल्न नसकेको बताए । त्यस्तै शान्ति पक्रियामार्फत् टुंग्याउनु पर्ने काम अति ढिला भएको उनको भनाई छ । नेता दोङले शान्ति सम्झौताको मुख्यकर्ता एमाले नभई नेपाली कांग्रेस भएको बताए ।

त्यसैगरी उनले दुर्गा प्रसाईंले अहिले शुरु गरिएको अभियान राजावादी र एमालेको डिजाइनमा भइरहेको बताए । कार्यक्रममा बागमती प्रदेशको पुर्वमन्त्री रत्न ढकालले संगठनलाई सुदृढ गरी अघि बढ्न आवश्यक रहेको बताए । उनले माओवादीप्रतिको भ्रम चिर्ने मुख्य भुमिका सञ्चारकर्मीको रहेको बताए ।

कार्यक्रममा नेता दोङ, ढकालसँगै संविधानसभा सदस्य तेजबहादुर मिजार, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष लक्ष्मण खड्का, महासचिव सन्तोष पौडेल लगायतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय