काठमाडौं । नेपाल तामाङ विद्यार्थी घेदुङको संघीय अध्यक्षमा इन्द्र लामा चयन भएका छन् । काठमाडौमा २६ र २७ गते सम्पन्न विद्यार्थी घेदुङ केन्द्रीय समितिको आठौ संघीय महाधिवेशनले लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
लामाको नेतृत्वमा गठित नयाँ संघीय कार्यसमिति ५५ जनाको रहेको छ । कार्यसमितिमा १० जना मनोनीत हुने व्यवस्था छ ।


कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विशाल थिङ, महिला उपाध्यक्षमा निमा गोले, उपाध्यक्षमा जेन्जो तामाङ र महासचिवमा जगत दोङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष लामा २०६६ सालमा रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) घेदुङ अध्यक्ष बन्दै केन्द्रीय सदस्य, सहकोषाध्यक्ष हुदै यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए ।
नेपाल तामाङ विद्यार्थी घेदुङका अध्यक्ष दिनेशकुमार लोको अध्यक्षतामा आयोजित महाधिवेशन वाग्मती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभएको थियो । महाधिवेशनमा देशभरिबाट प्रतिनिधि र पर्यवेक्षक गरी ४ सय हाराहारीमा सहभागी थिए ।
महाधिवेशनका उद्घाटन सत्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो भने चर्चित कलाकाहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।










