काभ्रे । खानीखोला गाउँपालिकास्थित तीन जङ्गलमा गए रातिदेखि आगलागी भएको छ । धाप्ले सामुदायिक वन, साल्धारा र साल्मे सामुदायिक वनमा आगलागी भएको गाउँपालिकाले जनाएको छ ।
आगलागीबाट भौतिक एवं मानवीय क्षति नभएपनि जङ्गलका रुख बिरुवा नष्ट भइरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताए । उनका अनुसार छिमेकी जिल्ला सिन्धुलीको जङ्गलमा पनि आगलागी भइरहेकाले यसको प्रकृतिबारे थप बुझ्दै कारण पत्ता लगाउने प्रयास भइरहेको छ । “आगलागीको कारण खोज्दैछौँ, जङ्गलको आगो बस्तीतर्फ आउनसक्ने बारे आज बिहानैदेखि स्थानीयलाई सचेत गराउन थालेका छौँ”, थिङले भने।


लामो समयको खडेरीपछि निरन्तर हावाहुरी तथा तापक्रम बढिरहेको अवस्थामा सामुदायिक वन तथा निजी क्षेत्रमा आगलागी हुनसक्ने भएकाले गाउँपालिकाले सचेत रहन आग्रह गरेको हो ।










