काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटर पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटरमा जारी भेटवार्तामा संसद अवरोध खुलाउनेबारे छलफल भईरहेको स्रोतले जनाएको छ ।


त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर गत विहिबार प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको थियो ।
विहिबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अधिकांश सांसदहरूले बैठक अवरोध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको थियो।
एमाले अध्यक्ष ओली बालुवाटर पुग्नुअघि प्रधानमन्त्री प्रचण्डले कोशी प्रदेश सरकार गठनबारे सत्ता गठबन्धनको शीर्ष नेताहरुसँग छलफल गरेका छन् । कोशी सरकार गठनबारे छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, एकिकृत समाजवादीको नेता माधव कुमार नेपाल लगायतका नेता विहानै बालुवाटर पुगेका थिए । देउवा र नेपाल बालुवाटरबाट बाहिरिएसँगै ओली र प्रचण्डबीच वान टू वान वार्ता सुरु भएको हो ।










