चीन । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले नेपाली नेताहरुलाई पालैपालो जनवादी गणतन्त्र चीन भ्रमणको निम्तो दिएरहेको छ । सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपाले दुई पूर्व प्रधानमन्त्रीको चीनमा स्वागत गरेको हो ।
गत अक्टोवर १८ मा राजधानी बेइजिङ्मा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) फोरममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन आएका थिए । सोही पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल मंगलबार राति चीन आइपुग्दैछन् ।


चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा साताव्यापी चीन यात्रामा आउन लागेका नेपालसँग १४ जनाको टोली रहेछ । नेपाल नेतृत्वको टोलीले युनान प्रान्तको खुमनिङ शहरबाट भ्रमण शुरु गर्छन् ।
नेपाली समय अनुसार मंगलबार साँझ चाइना इष्टनको काठमाडौं खुमनिङ सीधा उडानबाट चीन आउन लागेका अध्यक्ष नेपाल टोलीसँग बुधबार युनान प्रान्तका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग छलफल कार्यक्रम राखिएको छ । अध्यक्ष नेपाल नेतृत्वके टोलीमा कृषिमन्त्री डा. बेदुराम भुषाल पनि सहभागी रहने छन् ।
युनान प्रान्तको आधुनिक कृषि प्रविधिका बारेमा टोलीलाई जानकारी दिने र युनान र नेपाल सरकारबीच कृषि प्रविधि आदानप्रदानका विषयमा छलफल हुने जनाइएको छ । युनान प्रान्तमा हुने राजनीतिक भेटघाट सकिएपछि अध्यक्ष नेपालको टोली राजधानी बेइजिङ पुगेर चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरुलाई भेट र छलफल गर्नेछन् ।
नोभेम्बर १४ (कार्तिक २८) गते फर्किनुअघि नेपालको टोलीले दुई राजनीतिक दलबीचको सहकार्यका बारेमा छलफल गर्नेछन् । यसअघि, गत सेप्टेम्बर ३ देखि (भाद्र ३ देखि दुई हप्ता) चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा नेकपा (एमाले)का महासचिव शकर पोखरेल नेतृत्वको २१ सदस्यीय टोलीले पनि चीन भ्रमण गरेको थियो ।
पोखरेलको टोलीले चीनको प्रमुख शहर छोङछिङ, राजधानी बेइजिङ र अर्को शहर छिङहाईको भ्रमण गरेको थियो । बेइजिङ् यात्रामा पोखरेलले सीपीसीका विदेश विभाग प्रमुख एवं पोलिटव्यूरो सदस्य लिउ जियनचाओ बीच भेटवार्ता गरेका थिए । महासचिव पोखरेल नेतृत्वको टोलीमा एमालेका नेता एवं पत्रकारहरु सहभागी थिए ।
त्यसअघि चिनियाँ कम्युनिष्ट पार्टीको निम्तोमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटा गत मे १९ देखि १० दिने चीन भ्रमण गरेका थिए । सापकोटा नेतृत्वको टोलीमा माओवादी २० जना नेता सहभागी थिए । चीनको स्वसासित क्षेत्र तिब्बत र कैलाश मानसरोबर यात्राबाट चीन यात्रा शुरु गरेको टोली राजधानी बेइजिङ पुगेको थियो ।
कोभिड महामारीका कारण स्थागित भएको भ्रमणलाई पुरानै लयमा फर्काउने गरी गत अप्रिलदेखि चीनले नेपाली नेताहरुलाई पालैपालो बोलाइरहेको छ ।










