काठमाडौँ । नेपाल र चीनबिच सञ्चालित सहयोग कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले गठित संयन्त्रको तेस्रो बैठक मङ्गलबार काठमाडौँमा सम्पन्न भएको छ ।
बैठकको सह–अध्यक्षता नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले गरेका हुन्। दुवै देशका प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनीहरूले बैठकको सञ्चालन गरेका हुन् ।


बैठकमा नेपाल र चीनबिच हाल सञ्चालनमा रहेका आर्थिक तथा विकास सहयोग कार्यक्रम र आयोजनाहरूको अवस्थाबारे विस्तृत रूपमा समीक्षा गरिएको छ ।
हालसम्म आयोजनाहरूमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै दुवै पक्षबिच तत्काल ध्यान दिनुपर्ने कार्यक्रम र आयोजनाहरूलाई समयमै र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि विशिष्ट कदमहरू चाल्ने सहमति बनेको छ। आयोजना कार्यान्वयनमा गति दिन दुवै देशले आपसी समन्वयलाई अझै सघन बनाउने प्रतिबद्धता जनाएका छन् ।
यस बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलमा नेपाल–चीन कार्यक्रम तथा आयोजनाहरूको कार्यान्वयनका लागि जिम्मेवार नेपाल सरकारका विभिन्न मन्त्रालय र निकायका वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो।त्यसैगरी चिनियाँ प्रतिनिधिमण्डलमा काठमाडौँस्थित चिनियाँ दूतावासका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो । दुवै तर्फका कार्यान्वयन निकायका अधिकारीहरूको उपस्थितिले आयोजनाका
व्यावहारिक पक्षमाथि छलफल गर्न सहज बनाएको छ ।
वि.सं. २०७५ असार ७ गते हस्ताक्षर भएको द्विपक्षीय समझदारी पत्रअनुसार यो संयन्त्र गठन गरिएको हो। यस संयन्त्रले नेपाल र चीनबिच सञ्चालित आयोजनाहरूको अवस्थाबारे नियमित रूपमा समीक्षा गर्ने, कार्यान्वयनका क्रममा कुनै चुनौतीहरू देखिएमा तिनको पहिचान गर्ने र ती समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्न आवश्यक उपायहरू अवलम्बन गर्ने मञ्चका रूपमा काम गर्दै आएको छ।
परराष्ट्र मन्त्रालय सिंहदरबारले आज एक विज्ञप्ति जारी गर्दै यस बैठक र निर्णयहरूबारे आधिकारिक जानकारी दिएको हो।










