काभ्रेपलाञ्चोक, खानीखोला । खानीखोला गाउँपालिका–४ स्थित श्रीकुमारी माध्यमिक विद्यालयकी छात्रा इमसाङ योन्जनले एसईई २०८३ मा ३.३१ GPA प्राप्त गर्दै खानीखोला गाउँपालिकाभरकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएकी छन्।
सरकारी विद्यालयमा अध्ययनरत इमसाङले निरन्तर मेहनत, लगनशीलता र अनुशासनका बलमा उत्कृष्ट नतिजा हासिल गर्दै गाउँपालिकाको शैक्षिक क्षेत्रमा प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी हुन्। उनको सफलताले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूले पनि उचित अवसर, मार्गदर्शन र दृढ इच्छाशक्ति भए उत्कृष्ट उपलब्धि हासिल गर्न सक्ने सन्देश दिएको छ।


उनको उल्लेखनीय उपलब्धिको कदर गर्दै खानीखोला गाउँपालिकाले नगद रु. १ लाख, खादा, माला तथा सम्मानपत्रसहित सम्मान गरेको छ। आयोजित सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत जीवनराज अर्याललगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गाउँपालिका नेतृत्वले इमसाङको सफलताले खानीखोलाको शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रतिभाशाली विद्यार्थीहरूलाई प्रोत्साहन तथा सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। गाउँपालिकाले इमसाङको उपलब्धिलाई सम्पूर्ण विद्यार्थीका लागि प्रेरणाको स्रोतका रूपमा लिएको जनाएको छ।
इमसाङ, यमध्वज योन्जन र प्रतिमा योन्जनकी सुपुत्री हुन्। महाभारत गाउँपालिका–२, सोक्तेलमा जन्मिएकी उनले सामान्य पारिवारिक पृष्ठभूमिबाट संघर्ष, मेहनत र दृढ संकल्पका साथ अध्ययन गर्दै गाउँपालिकाकै उत्कृष्ट विद्यार्थी बन्ने गौरव हासिल गरेकी हुन्।
स्थानीयवासी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूले उनको उज्ज्वल भविष्यको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
इमसाङको सफलताले “मेहनत, लगन र आत्मविश्वास भए सरकारी विद्यालयबाट पनि उत्कृष्ट सफलता हासिल गर्न सकिन्छ” भन्ने सन्देशलाई पुनः स्थापित गरेको छ।










