काठमाडौं । बागमतीमा नेकपाका असन्तुष्ट सांसदहरूले मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने भएका छन् । आज पार्टी संयोजक प्रचण्डसँगको भेटपछि उनीहरू थापालाई विश्वासको मत दिन तयार भएका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूचीसहित आज ४ बजे प्रदेश सभा बैठक डाकिएको छ ।

नेकपाका सांसद गंगानारायण श्रेष्ठका अनुसार प्रचण्डसँग ३ वटा विषयमा सहमति जुटेको छ ।

‘सैद्धान्तिक मुद्दा नमिल्ने पार्टी (राप्रपा) सँग मिलेर सरकार बनाउनु उचित हुन्छ कि हुँदैन ? भन्ने विषय राख्यौँ । बागमतीका दलका नेता-उपनेतासमेतलाई आमन्त्रण गरी केन्द्रीय कार्य संयोजन समिति बैठकले नीतीगत निर्णय लिनुपर्छ’, श्रेष्ठले भने ।

अहिले रहेको ८ वटा मन्त्रालयबाट थप्न नपाउने सर्त पनि आफूहरूले अघि सारेको उनको भनाइ छ ।

गठबन्धनको ठूलो दलको हैसियतमा एक वटा सभामुख र बाँकी ३ मन्त्री नेकपाले लिने र सोही अनुसार वातावरण बनाउने सहमतिसहित आफूहरू निस्किएको सांसद श्रेष्ठले बताए ।

प्रचण्डले अहिले विश्वासको मत दिएर अघि बढ्न र पछि नमिलेका विषय छलफलबाट मिलाउँदै जान भनेका छन् ।

हिजोदेखि काठमाडौंमै बसेका नेकपाका सांसदहरू गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठले प्रचण्डलाई भेटेका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय