काठमाडौं । चीनबाट नेपालतर्फ आएको ठूलो बाढीका कारण नेपालका विभिन्न नदी तथा तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने भन्दै तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालले प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
मोर्चाले बुधबार अपिल जारी गर्दै बाढी तथा प्राकृतिक विपद्का कारण उत्पन्न हुन सक्ने जोखिमप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेको हो। सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोक र चितवनलगायत जिल्लाका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन मोर्चाले आग्रह गरेको छ।


मोर्चाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहन, अनावश्यक रूपमा नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचना तथा निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ।
विपद्को यस्तो दुःखद् घडीमा नागरिकको जीवनरक्षा सबैभन्दा महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै मोर्चाले संघ, प्रदेश र स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भएर उद्धार, राहत तथा मानवीय सहयोगलाई प्रभावकारी बनाउन अपिल गरेको छ।
मोर्चाले विपद् प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा मानवीय सेवाका कामलाई प्राथमिकताका साथ अघि बढाउन आफ्नो सम्पूर्ण पंक्तिलाई निर्देशनसमेत दिएको छ। प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्याउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गर्न नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष अविरल जिम्बाका अनुसार विपद् प्रभावित नागरिकलाई सहयोग पुर्याउन मोर्चाले राहत कोष स्थापना गर्ने तयारी गरेको छ। उक्त कोषमार्फत आवश्यक राहत तथा मानवीय सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पुर्याउने उद्देश्य रहेको जिम्बाले बताउनुभएको छ।
विपद्को समयमा राजनीतिक तथा सामाजिक विभाजनभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै जिम्बाले प्रभावित नागरिकको जीवनरक्षा, उद्धार तथा राहतका लागि राज्यका निकायसँग सहकार्य गर्दै मोर्चाको सम्पूर्ण पंक्ति परिचालन हुने बताउनुभएको छ।
मोर्चाले नदीको जलस्तर बढेको अवस्थामा तत्काल सुरक्षित स्थानतर्फ जान, स्थानीय तह तथा सुरक्षा निकायबाट प्राप्त आधिकारिक सूचनालाई मात्र आधार बनाउन र जोखिमपूर्ण क्षेत्रमा अनावश्यक भीडभाड नगर्न समेत नागरिकलाई आग्रह गरेको छ।
विपद् प्रभावित नागरिकको तत्काल आवश्यकता पहिचान गरी राहत तथा सहयोगलाई व्यवस्थित रूपमा सम्बन्धित क्षेत्रमा पुर्याउन सबै पक्षबीच प्रभावकारी समन्वय आवश्यक रहेको मोर्चाले जनाएको छ।










