बनेपा । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार आयोजित पहिलो चरणको २८औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले काठमाडौँ विश्वविद्यालयले विगत तीन दशकदेखि गुणस्तरीय एवं प्राविधिक शिक्षा उपलब्ध गराएर विभिन्न विधामा कर्मशिल, सिर्जनशिल र क्षमतावान जनशक्ति उत्पादन गरी मुलुकको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउँदै आएको बताए ।


“विश्वविद्यालय विद्यार्थीमा ज्ञान, सीप र दक्षता विकास गर्न तथा उहाँहरुमा लुकेको प्रतिभा र सिर्जनालाई उजागर गरी समाज र देशको हितका लागि प्रयोग गर्न सहयोग पुर्याउने पवित्र शैक्षिक केन्द्र हो”, उनले भने, “विश्वविद्यालयहरु राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्दछ ।”
नेपालका उच्च शिक्षाको क्षेत्रमा काठमाडौंँ विश्वविद्यालयको आफ्नो इमान, गरिमा र छुट्टै पहिचान रहेको भन्दै उनले विश्वविद्यालयबाट उत्पादित जनशक्ति देशभित्र मात्र नभइ विदेशमा पनि महत्वपूर्ण संस्थामा आवद्ध भई उत्कृष्ट सेवा पुर्याउँदै आउनु सबैका लागि गर्वको विषय भएको बताए ।
उनले काठमाडौँ विश्वविद्यालयका विभिन्न सङ्कायमा दीक्षित भएका विद्यार्थीलाई बधाई दिए । भविष्यमा भौतिक तथा प्राज्ञिक विकासका लागि निरन्तर सहयोग प्राप्त हुने उनले अपेक्षा व्यक्त गरेका छन् ।
त्यसक्रममा प्रधानमन्त्रीले काठमाडौं विश्वविद्यालयबाट पहिलो पटक ‘मास्टर्स अफ इन्जिनियरिङ इन सेनिटेसन टेक्नोलोजीमा छ जना र मास्टर्स अफ साइन्स सेटिटेसन टेक्नोलोजीमा एक जना गरी सात जनालाई उपाधि प्रदान गरेका छन् ।










