काठमाडौं । अभिनेता राजेश हमाल दुई महिना लामो अमेरिका भ्रमणबाट गत साता काठमाडौं फर्किए । त्यसक्रममा उनले कैयौं अमेरिकी राज्य घुमेर नेपाली समुदायलाई भेटघाट गरे ।
सम्भवतः पछिल्लो पटकको अमेरिका भ्रमणबाट प्रेरित हमालले नयाँ टेलिभिजन सिरिज ल्याउने उद्घोष गरेका छन् । यो टिभी सिरिजमा हमालले विदेशमा बसोबास गर्ने नेपालीको सफलताको कथा प्रस्तुत गर्नेछन् ।


हिमालय टिभी एचडीबाट प्रसारण हुने कार्यक्रम ‘अँध्यारोबाट उज्यालोतिर’मा कुरा गर्दै हमालले विश्व घुमेर आफूले उक्त टिभी सिरिज चाँडै ल्याउन लागेको जानकारी दिए । ‘मेरा लागि मात्र होइन, नेपाली टेलिभिजनकै लागि यो नयाँ अनुभव हुनेछ,’ उनले भने, ‘पछिल्लो दुई दशकमा ठूलो संख्यामा नेपाली विदेश जानुभएको छ । त्यहाँ उहाँहरुको सफलताको कथा पनि छ । व्यापार, अध्ययन, कला, राजनीति, समाज सबैतिर उहाँहरुले उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । सफलताको यी कथामा सिरिज बन्नेछ ।’
हमालले अगाडि भने, ‘आफूले छानेको क्षेत्रमा उहाँहरु सक्रिय हुनुभएको छ । यस्ता पृष्ठभूमि बोकेको व्यक्तिको धारणा नेपाली नागरिकमाझ ल्याउने तयारी छ । पक्कै पनि यो प्रेरणादायी र र रोचक हुनेछ ।’
कार्यक्रबारे हमालले भने, ‘विदेशमा नेपालीले शून्यबाटै थालनी गर्नुभएको हो । नेपालबाट प्लेन चढेर जाँदा उहाँहरु सक्सेस हुनुहुन्छ भन्ने पनि लागेको नहुन सक्छ । नेपालमै बसेको भए के त्यही किसिमको सक्सेस स्टोरी पाउनुहुन्थ्यो ? मैले दुई-तीन वर्षमा विदेशमा बसेका नेपालीको अवस्था देखेको छु । उहाँहरु स्थिर हुनुहुन्छ । व्यवसायको मालिक बनेर निस्कनुभएको छ । जीवनलाई राम्रो बनाइरहनुभएको छ । कोभिडपछि अमेरिकामा जाँदा धेरै नेपालीले सफलतापूर्वक व्यवसाय चलाएर बसेको देखें । हस्पिटालिटी क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्नुभएको छ । यसका लागि उहाँहरु दक्ष हुनुहुन्छ । नेपाली व्यक्ति भएर अन्तर्राष्ट्रिय कुजिन बनाउन सक्नुहुन्छ ।’
हमाल प्रश्न गर्छन्, ‘के उहाँहरु नेपालमै बसेको भए त्यो सफलताको कथा सिर्जना गर्न सक्नुहुन्थ्यो ?’










