काठमाडौं । बुधबारदेखि सुरु भएको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत भएको नेपाल र यूएईबीच भएको पहिलो खेलमा नेपाल विजयी भएको छ।
काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस जित्दै यूएईलाई ब्याटिङको निम्तो दिएको नेपाल सात विकेटले विजयी भएको हो।


पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा सात विकेट गुमाउँदै १४० रन बनाएको थियो। १४१ रनको लक्ष्य पछ्याएको नेपालले १८ दशमलव ५ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे। ४० बलको सामना गरेका पौडेलले रनआउट रहँदै ५१ रनको योगदान दिए।
यस्तै दीपेन्द्र सिंह ऐरीले २३ बलको सामना गर्दै नटआउट ३४ रन जोडे। ओपनर आशिफ शेखले २३, कुशल भुर्तेलले १४ तथा कुशल मल्लले ११ रन जोडे।










