काठमाडौं । गोकर्णेश्वर नगरपालिका–९, आरुबारीमा रहेको जीवन तारा एकेडेमीमा १७ औं संस्करणको स्पोर्टस मिट–२०८० सुरु भएको छ ।
शिक्षाको विकास संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलापमा अघि बढाउने उद्देश्यले अन्तर हाउस स्तरिय स्पोर्टस मिटको आयोजना गरिएकोे विद्यालयका प्रिन्सिपल अमर गिरीले बताए । स्पोर्टस मिट मंगलबार माघ २३ गतेबाट सुरु भई २४, २५ र २६ गते सम्म संचालन हुने भ्वाइस प्रिन्सिपल नवराज सापकोटाले जानकारी दिए ।


स्पोर्टस मिट–२०८० अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन, फुटबल, टेबुल टेनिस लगायत विभिन्न खेलहरुमा प्रतिष्पर्धा हुनेछन् ।प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाएको छ ।
२०६३ सालमा स्थापना भएको जिवन ताराले हरेक वर्ष स्पोर्टस मिट आयोजना गर्दै आएको छ । प्रिन्सिपल गिरीले भने–“यो प्रतियोगिताका लागि मात्रै आयोजना होइन । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने दोश्रो तर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो ।”











