काठमाडौं । काठमाडौं महानगरपालिकाको निःशुल्क उपचार सहजीकरण सेवा कार्यक्रमअन्तर्गत लक्षित वर्गका लागि ५२ वटा अस्पताल सूचीकृत भएका छन् ।
ती अस्पतालले १० प्रतिशतका दरले ३८५ वटा शैया विपन्न असहाय र बेवारिसे बिरामीका लागि निःशुल्क उपलब्ध गराउनेछन् । सो सेवा फागुन १ गतेदेखि सुरु भइ बिरामीले निःशुल्क उपचार गराउन समेत थालेको महानगरको स्वास्थ्य विभागकी निमिक्त प्रमुख सजिना महर्जनले बताइन् ।


क–कसले पाउँछन् निःशुल्क सेवा ?
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शैया छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।
महानगरले सोही व्यवस्थामा टेकेर ‘काठमाडौँ महानगरपालिका अस्पतालमा निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८० तयार पारेको हो । जसअनुसार निःशुल्क उपचार सेवा नेपालका जुनसुकै भागबाट आएका व्यक्तिले पनि मापदण्डबमोजिम आधारभूत र आकस्मिक स्वास्थ्य सेवा पाउनेछन् ।
निःशुल्क सेवा लिन के गर्नुपर्छ ?
कार्यविधिअनुसार लक्षित वर्गले तोकिएको निःशुल्क सेवा लिन तीनवटा विधि तोकिएको छ । विपन्न परिचयपत्र भएका बिरामीले सिधै अस्पताल पुगेर परिचयपत्रका आधारमा सेवा लिनसक्छन् ।
यस्तै, विपन्न परिचयपत्र नभएका नागरिकले आफू बसोबास गरिरहेको वडाको सिफारिसका आधारमा सेवा लिन सक्छन् । त्यसका लागि राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी र हालसालै खिचिएको फोटो, रोग पहिचान भए सोको कागजपत्र र सम्बन्धित वा कार्यालयको सिफारिस आवश्यक हुन्छ ।
यी दुवै कागजात नभएको अवस्थामा आफू विपन्न भएको प्रमाणसहित महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण इकाइमा सम्पर्क गर्न सक्नेछन् ।
इकाइले विपन्नताको प्रमाणका आधारमा अस्पताललाई सिफारिस गर्नेछ । बेवारिसेको हकमा नजिकको वडा कार्यालय तथा प्रहरी कार्यालयको सिफारिसको आधारमा निःशुल्क उपचार प्रदान गरिनेछ ।
अनलाइनबाटै पाइन्छ अस्पताल र शैयाबारे जानकारी
निःशुल्क उपचार सेवालाई पारदर्शी र व्यवस्थित गराउन महानगरले http://freehealth.kathmandu.gov.np/ मार्फत अनलाइन सेवा दिने व्यवस्था गरेको छ ।
कुन अस्पतालमा कति शैया निःशुल्क
महानगरको निःशुल्क उपचार सेवा प्रणालीमा फागुन १५ गतेसम्म ५५ वटा अस्पताल सूचीकृत भएका छन् । तीमध्ये ५२ वटाले सेवा सुरु गरेको महानगरको स्वास्थ्य विभागकी निमिक्त प्रमुख सजिना महर्जनले बताइन् ।
हालसम्म सूचीकृत अस्पताल र तिनमा उपलब्ध निःशुल्क शैयाको विवरण यस्तो छ ।
अस्पतालको नाम निःशुल्क शैया
क्षेत्रपाटी निःशुल्क अस्पताल ३
काठमाडौं मोडेल अस्पताल १०
अन्नपूर्ण न्युरो अस्पताल ६
बीपी स्मृति सामुदायिक अस्पताल १०
भरोसा अस्पताल ३
ब्लुक्रस अस्पताल ५
चिरायु अस्पताल १०
इआरए इन्टरनेसनल अस्पताल २
एभरेष्ट अस्पताल १०
फ्रन्टलाइन अस्पताल १०
ग्रान्डीसीटी अस्पताल ५
हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पताल १०
हिमाल अस्पताल ५
होप इन्टरनेसनल अस्पताल १०
बालमैत्री अस्पताल ५
कालीमाटी चेस्ट अस्पताल ३
कान्तिपुर डेन्टल अस्पताल १०
कान्तिपुर अस्पताल १०
काठमाडौं इएनटी अस्पताल २
काठमाडौं मेडिकल कलेज ३०
महेन्द्रनारायण निधि मेमोरियल अस्पताल १०
मनमोहन मेमोरियल मेडिकल कलेज ३०
मेडिकेयर अस्पताल १०
मेट्रो काठमाडौं अस्पताल ३
राष्ट्रिय मिर्गौला केन्द्र ६
नेपाल आँखा अस्पताल १०
नेपाल नेसनल अस्पताल ३
नर्भिक इन्टरनेसनल अस्पताल २०
ओम अस्पताल १८
ओम साइबाबा मेमोरियल अस्पताल ५
ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल अस्पताल २
पिपुल्स डेन्टल अस्पताल ५
प्राइमेरा अस्पताल २
सहिद मेमोरियल अस्पताल १०
समता अस्पताल १०
सिल्भरलाइन अस्पताल १०
स्तुपा सामुदायिक अस्पताल ६
स्वाक्यान इन्टरनेसनल अस्पताल ३
भ्याली अस्पताल ३
बयोधा अस्पताल ५
बुद्धमाइ सेन्टर २
दीर्घायु गुरु अस्पताल ५
काठमाडौं भ्याली अस्पताल १०
मार्क अस्पताल ३
मदरल्याण्ड अस्पताल २
नेपाल भारत मैत्री अस्पताल १०
नेपाल स्किन अस्पताल २
स्पार्क हेल्थहोम २
तिलगंगा आँखा अस्पताल ५
भेनस अस्पताल ५
यति अस्पताल ६
क्यापिटल अस्पताल ३










