काठमाडौं । नेपालमा मिर्गौला प्रत्यारोपण गर्ने पुरुषको दर बढेको छ । पछिल्ला दुई वर्षयता अंग प्रत्यारोपण गर्ने पुरुषको दर २८ प्रतिशत पुगेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार यसअघि ९० प्रतिशत दाता महिला र १० प्रतिशत ग्रहणकर्ता पुरुष थिए । हाल ७२ प्रतिशत दाता महिला र २८ प्रतिशत पुरुष छन् ।
राष्ट्रियसभाअन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बुधबार अंग प्रत्यारोपणका चुनौतीबारे छलफल भएको छ ।
छलफलमा मस्तिष्क मृत्युबाट हुने प्रत्यारोपण अत्यन्तै न्यून रहेकाले यसलाई बढाउनुपर्नेमा सहभागीहरूले जोड दिए ।
केन्द्रबाट १२ वर्षमा एक हजार २७७ मिर्गौला र २६ वटा कलेजो प्रत्यारोपण गरिएको छ । जसमध्ये १० वटा मिर्गौला र तीन वटा मस्तिष्क मृत्युबाट कलेजो प्रत्यारोपण गरिएको डा. श्रेष्ठले जानकारी दिए ।