
काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले हिजो (बिहीबार) झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् ।
काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।
दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।
हिरासतमा रहेका बेला उनको परिवारसँग सहमति भएको थियो । यद्यपि, काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।