
काभ्रे । तामाङ समुदायको राष्ट्रिय सांकृतिक तथा धार्मिक पर्व २८६१ औं सोनाम ल्होछार काभ्रेको महाभारत गाउँपालिकामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष (डुक ल्हो) गरुड वर्षलाई बिदाइ गर्दै डुल (सा पुख्री) ल्होलाई स्वागत गरिएको छ ।
काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर–५ स्थित गोपेडाँडामा कोन्ज्योसोम बुद्ध मुर्ति संरक्षण समाजको आयोजनामा बृहत सांस्कृतिक प्रतिभा प्रस्तुती एव ग्रहदसा शान्तिका लागि घ्यासी पुजा तथा ल्होछार विषेश कार्यक्रम आयोजना भएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, अतिथिहरु तमाङ सांस्कृति घेदुङका केन्द्रिय सदस्य गंगा सिंतान, बौद्ध महासंघ नेपालका लामा गुरु सोनाम लामा, गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विजय राना, वडा नम्बर ४ का वडा अध्यक्ष विशाल मोक्तान, वडा नम्बर ६ का वडा अध्यक्ष रमेश लुंगेली साथै विभिन्न पार्टीका जनप्रतिनिधिहरु, लामा गुरु,बोन्पो,ताम्बाहरु लगाएत स्थानिय आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार)ले स्थानीय चाडपर्व, कला, संस्कार, संस्कृतिले देशको पहिचान बोकेको भएकाले यसको संरक्षण गर्नुपर्ने बताए । जिम्बाले ल्होछार २८६१ औं भएपनि हामीले राम्रोसंग थाहा नभएकोले चाडपर्व, कला संस्कृति नै देशको सम्पति भएकाले यसलाई जोगाउनु सबैको दायित्व भएको बताए ।
ग्रहदसा शान्तिका लागि घ्यासी पुजा समुदायका कला, संस्कृतिको संरक्षणका लागि विभिन्न साँस्कृतिक डम्फुरे, झाँक्री (बोम्बो), लामाको झाकि प्रदर्शण, फापरे सेला गित, ल्होछार विषेश सडक नाटक लगायत स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।