
काठमाडौ । काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले आफ्नो प्राध्यापक पदको सेवा करार नवीकरण गर्दा मनोमानी गरेको खुलेको छ।
कार्यकारी परिषद्को बैठकको निर्णयको प्रतिलिपिमा हाल उपकुलपतिमा प्रतिस्पर्धा गरिरहनुभएका रजिस्ट्रार वाग्लेले करारमा कार्यरत शिक्षक तथा कर्मचारीको म्याद एक वर्ष थप गरी आफ्नो प्राध्यापक पदको म्याद भने एकैपटक दुई वर्ष थप गरेको खुलेको छ।


रजिस्ट्रारले गरेको निर्णयमा अन्य करारका कर्मचारीले कुनै पनि प्रतिक्रिया जनाएनन्। प्रशासनिक अधिकार रजिस्ट्रारमा निहित हुने भएकाले कर्मचारीको म्याद नथपिने डरले चुप बसेका थिए।
विश्वविद्यालय स्रोतका अनुसार गएको असार २३ गते बसेको बैठकले सबै करारका शिक्षक तथा कर्मचारीको पद एक वर्षमात्रै थप्ने निर्णय गरेको थियो। तर, वाग्लेले बैठकको माइन्युट लेख्ने क्रममा आफ्नो पद भने दुई वर्ष थप्ने निर्णय गर्न लगाउनुभएको थियो। ‘सबैको एक वर्षमात्र थप्ने कुरा आएको थियो उहाँ रजिस्ट्रारले दुई वर्ष थपेर निर्णय गर्नुभएछ’ –स्रोतले भन्यो। आफ्नै कार्यालयले एक वर्ष म्याद थप्ने प्रस्ताव गर्ने अनि आफ्नो चाहिँ दुई वर्षे गर्ने ? यो त गलत प्रकृति हो’ –एक प्राध्यापकले भने।
बैठकको निर्णयअनुसार करारका सबै शिक्षक तथा कर्मचारीको म्याद एक वर्षका लागिमात्रै थपिएको छ । तर, वाग्लेको पद भने २०८३ साल असार मसान्तसम्म कायम भएको छ। वाग्ले पहिलोपटक २०७९ साल साउन १ गते एकवर्षे करारमा प्राध्यापक नियुक्त हुनुभएको थियो। त्यसपछि लगातार एक वर्षमात्र म्याद थप हुँदै आएको थियो। उपकुलपति पदमा दाबी गर्न र अर्को एक कार्यकाल पुनः रजिस्ट्रार पद हत्याउन दुई वर्ष म्याद थप गरिएको हो । करार प्राध्यापक उपकुलपति हुन पाउने वा नपाउने भन्ने विषयमा समेत प्रश्न खडा भएको छ।
म्याद थपको निर्णय विश्वविद्यालयको शिक्षक तथा कर्मचारी सेवा सर्त नियम २०५० ले दिएको अधिकारअनुसार भएको कार्यकारी परिषद्को बैठकको निर्णयको माइन्युटमा उल्लेख छ। कनिष्ठ प्राध्यापक भएर पनि राजनीतिक शक्तिको आडमा रजिस्ट्रार बनेको भन्दै विश्वविद्यालयका पुराना र वरिष्ठ प्राध्यापकहरु वाग्लेप्रति यसअघि पनि असन्तुष्ट थिए। फेरि विश्वविद्यालयको विद्यमान कानुनले अधिकार दिएको भन्दै वाग्लेले आफ्नो पद एकैपटक दुई वर्ष नवीकरण गरेपछि वरिष्ठ प्राध्यापकहरु रुष्ट बनेका छन्।
कार्यकारी परिषद्को बैठकबाट प्राध्यापकको करारको म्याद थपको पत्र निमित्त रजिस्ट्रार ऋषिकेश वाग्लेबाट हस्ताक्षर गराएर लिनुभएको थियो। आफूले हस्ताक्षर गर्दा कानुनविपरीत र नकरात्मक चर्चामा आउने भएपछि निमित्त रजिस्ट्रारलाई जिम्मेवारी सुम्पेर पत्र बनाउनुभएको हो । विश्वविद्यालय स्रोतका अनुसार आफ्नो म्याद दुई वर्ष थप गर्ने निर्णय आफैंले गराए पनि वाग्लेले चलाखीपूर्वक म्याद थपको पत्र आफ्नो अनुपस्थितिमा निमित्त रजिस्ट्रारबाट लिनुभएको हो।
वाग्लेको यस क्रियाकलापलाई विश्वविद्यालयका प्राध्यापकले अस्वाभाविक मानेका छन्। साथै वाग्लेको नैतिकतासँग पनि जोडेका छन् । ‘उहाँ त आफैँ रजिस्ट्रार भएकाले म्याद थप गरिराख्नु जरुरी नै छैन। अन्य सरह एक वर्ष मात्रै म्याद थपेको भए पनि अन्यथा हुने थिएन, अन्य शिक्षक कर्मचारीको म्याद एक वर्षमात्रै थपेर आफ्नो भने दुई वर्ष बनाउनु लाजमर्दोे क्रियाकलाप हो’ –एक प्राध्यापकले भने।
‘भान्सेले त अरुलाई खुवाएर आफूले पछिमात्रै खानुपर्नेमा वाग्ले सरले त आफ्नो हात जगन्नाथ भनेझंै अरुलाई एक वर्षमात्रै बनाएर आफ्नो करार म्याद दुई वर्ष बनाउनुभयो’ –कर्मचारीको गुनासो थियो। उपकुलपतिको अध्यक्षतामा रहने विश्वविद्यालयको कार्यकारी परिषद्मा रजिस्ट्रार, दुई जना डीन र एक जना शिक्षक प्रतिनिधिसहित पाँच सदस्यीय हुन्छ। विश्वविद्यालय स्रोतका अनुसार आफ्नो कार्यकाल दुई वर्ष थप्ने गरी रजिस्ट्रारले माइन्युट लेखेपछि दुई सदस्यले हस्ताक्षरसमेत गरेका छैनन्।
तर पाँच जनामध्ये तीन जनाले हस्ताक्षर गरेका कारण निर्णय कार्यान्वयन भएको छ । राजनीतिक शक्तिको आडमा आफ्नो विज्ञता देखाएर वाग्लेले कार्यकारी परिषद् बैठकमार्फत निर्णय गराएर २०७९ सालमा सिधै प्राध्यापक बन्नुभएको थियो । कार्यकारी परिषद्को ठाडो निर्णयबाट प्राध्यापक भएको हुनाले नै वाग्लेलाई खुला प्रतिस्पर्धा तथा छनोट समितिबाट सिफारिस भएर प्राध्यापक बनेकाहरूले झ्यालबाट छिरेर भएको प्राध्यापक भदै व्यंग्य गर्ने गरेका छन् ।
केयूमा हाल १२ प्रकारका प्राध्यापक कार्यरत छन् । तीमध्ये उपकुलपतिको प्रतिस्पर्धामा रहनुभएका वाग्ले बिनासिफारिस, विनाविज्ञापन कार्यकारी परिषद्बाट करारमा नियुक्ति हुनुभएको हो । अन्यमा भ्याली क्याम्पसबाट विशेष निर्णय गरी ल्याएको, राष्ट्रिय प्रतिष्ठित व्यक्ति, छनोट सिफारिसमा कार्यकारी परिषद्बाट स्थायी नियुक्ति (बिना पदपूर्ति विज्ञापन, एडजस्ट प्रोफेसर, प्रोफेसर इमिरिट्स र मानार्थ प्रोफेसर छन् ।
त्यस्तै, मेडिकलतर्फ मेडिकल छनोट समितिको सिफारिसमा स्वास्थ्य विज्ञान कार्यकारी परिषद्बाट, छनोट समिति बिना कार्यकारी परिषद्बाट नियुक्ति भएका र सम्बन्धन प्रद्धत्ततर्फ डीनबाट नियुक्ति भएका प्रोफेसर र सम्बन्धन प्रदत्ततर्फ डीनद्वारा नियुक्ति गरेका होल्डिङ प्राध्यापक गरी १२ प्रकारका प्राध्यापक छन्।
तीमध्ये सीधै करारका नियुक्ति भएका वाग्ले साथै तत्कालीन उपकुलपति प्राडा भोला थापाको कार्यकाल सकिएपछि प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले निमित्त उपकुलपतिको जिम्मेवारीसमेत दिनुभएको छ।नेपाल समाचारपत्रबाट