कास्की । सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका पोखरा महानगरपालिका-२१ का वडाध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरिले रड प्रहार गरेका हुन् ।

बाझीपोखरीमा पोखरीको कित्ताको सार्वजनिक जग्गा अतिक्रमण गरेर घर बनाउन लागेको थाहा पाएपछि रोक्न पुग्दा रड प्रहार भएको वडाध्यक्ष सुवेदीले बताए ।

आफूले सार्वजनिक जग्गामा घर नबनाउन आगह गर्दा पनि अटेर गरिएकाले नगर प्रहरी लगाएर रोक्न पुग्दा रड प्रहार भएको उनले बताए । ‘सेतो/रातो पुर्जा केही लिएर आउनुस्, अमिन पठाउन परे पठाउँछौं भन्यौं । उहाँसँग प्रमाण नै छैन,’ वडाध्यक्ष सुवेदीले इकान्तिपुरसित भने, ‘त्यो नितान्तः सार्वजनिक जग्गा हो । रातारात बनाउन लागेपछि नगर प्रहरीमार्फत त्यो रोक्न गएको हो ।’

नगर प्रहरीलाई सार्वजनिक जग्गा मिचिएको ठाउँ देखाउन जाँदा स्थानीय भूपेन्द्र गिरिले कुनामा बोलाएर रड आफूलाई पहार गरेको वडाध्यक्ष सुवेदीले सुनाए । ‘यस्ता आउनुस् भनेर कुनातिर बोलाउनुभयो । म त केही आग्रह गर्न होला भनेर गएँ । उहाँले रड लिएर आउनुभयो । मतिर पहार गर्दा मेरो हातले समातेर रोकेँ । छेउमा अर्को साथी पनि हुनुहुन्थ्यो । उहाँले पनि रोक्नुभयो,’ उनले भने, ‘चोट लाग्न पाएन । टाउकोमा लागेको भए जे पनि हुन सक्थ्यो ।’

घटनाबारे वडा प्रहरी कार्यालय बैदाममा जानकारी गराइसकेको वडाध्यक्ष सुवेदीले जानकारी दिए । रड प्रहार गर्ने व्यक्तिलाई सोधपुछका लागि प्रहरी कार्यालयमा बोलाइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी सन्तोष निरौलाले बताए ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय