काठमाडौँ । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचारप्रसार र आध्यात्मिक चेतनाको विस्तारमा उल्लेखनीय योगदान पुर्याउँदै आएका बौद्ध लेखकद्वय डा. त्रिरत्न मानन्धर र लोचनतारा तुलाधरलाई यस वर्षको भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार प्रदान गरिने भएको छ।
समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक् सन्देशका अध्यक्ष दीपक भेटुवाल `दीपसागर’ को अध्यक्षतामा बसेको चयन समितिको निर्णयअनुसार २०८२ सालको यो सम्मान उहाँहरूलाई अर्पण गरिने भएको हो ।


अखिल नेपाल भिक्षु महासंघका छैटौँ महासंघनायक भिक्षु अश्वघोष महास्थविरको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार केवल एक सम्मान मात्र नभएर थेरवादी बौद्ध दर्शनप्रतिको निष्ठा, साधना र समर्पणलाई मूल्याङ्कन गर्ने माध्यम पनि हो । भिक्षु अश्वघोषले थेरवादी बौद्ध धर्मको प्रचार र लेखनमा जीवन समर्पित गर्नुभएको थियो । उहाँको आदर्शले आज पनि बौद्ध साधना र अध्ययनलाई प्रेरणा दिइरहेको छ ।
२०७९ सालमा स्थापना भएको यो पुरस्कार प्रत्येक वर्ष एक महिला र एक पुरुषलाई दिइदै आएको छ । यसअघि डा. लक्ष्मण शाक्य, डा. रिना तुलाधर, अमिता धाख्वा, घनश्याम राजकर्णिकार, प्रा.डा. बज्रराज शाक्य र प्रा.डा. रञ्जना धाख्वा बज्राचार्य यस सम्मानबाट सम्मानित भइसकेका छन् ।
यस वर्ष पुरस्कार प्राप्त गर्ने डा. मानन्धर र तुलाधर दुवै लामो समयदेखि बौद्ध दर्शनको अध्ययन, अध्यापन र लेखनमा सक्रिय रहँदै आएका छन् । उहाँहरूको कलमले धर्मलाई केवल पुस्तकको पाना भर्ने मात्र होइन, समाजको चेतनामा उतार्ने काम पनि गरेको छ । यो पुरस्कार दसैँ र तिहारको बीचमा समर्पण गर्ने तयारी भइरहेको सम्यक् सन्देशले बताएको छ ।
Write to Motilal Moktan










