चौंरीदेउराली (काभ्रे) । चौंरीदेउराली गाउँपालिका–२, नाग्रेगर्चेमा वर्षाको कारण बिग्रिएर करिब दुई महिनादेखि अवरुद्ध बनेको सडक अन्ततः जनश्रमदानमार्फत सञ्चालनमा आएको छ।
सडक बन्द हुँदा स्थानीयवासीलाई आवतजावतमा ठूलो कठिनाइ भएको थियो। विद्यालय जाने विद्यार्थी, बिरामी बोक्ने सवारीसाधन र दैनिक उपभोग्य वस्तु ल्याउने काममा बाधा पुगेको थियो। स्थानीयवासी पैदल हिँड्न बाध्य भएका थिए।


यसलाई ध्यानमा राख्दै नेकपा (माओवादी केन्द्र) चौंरीदेउराली–२ का वडा कमिटी सचिव देवराज लामाको नेतृत्वमा युवा संगठन (वाईसिएल)का सदस्यसहित करिब २५ जना कार्यकर्ताले सडक मर्मतमा खटिएका थिए। उनीहरूले सडकको भत्किएको भागमा ढुंगा थाप्ने (सोलिङ), माटो फिलिङ गर्ने र पानी निकासका लागि ड्रेन निर्माण गर्ने कार्य सम्पन्न गरेका छन्।
मर्मतमा संलग्न स्वयंसेवकहरूको खानपानको जिम्मेवारी पार्टीकै संगठित सदस्य नारायण श्रेष्ठले बहन गरेका थिए।
सडक मर्मत सम्पन्न भएपछि स्थानीयवासीले लामो समयदेखि बेवास्ता भएको समस्या अन्ततः सामूहिक जनश्रमदानबाट समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन्। उनीहरूले वडा अध्यक्षले बेवास्ता गरेको गुनासो समेत पोखेका छन्। अब सडक सञ्चालनमा आएपछि विद्यालय, अस्पताल र बजार जाने काम सहज भएको र दैनिक जीवनमा ठूलो राहत पुगेको स्थानीयको भनाइ छ।










