काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले भ्रष्टाचार तथा नेपोकिड्स समस्या विरुद्ध ‘Generation Z’ जेन-जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा असाेज तीन गते(भाेली) संविधान दिवसकाे दिन मणिमाेन्लम प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम गर्ने भएको छ ।
गत भदौ २३ र २४ गते देशव्यापी रुपमा भएको आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीर शहीदहरूप्रती श्रदाञ्जली दिँदै समितिका अध्यक्ष राजकुमार लामाले शहीदका परिवाजनप्रति समवेदना समेत व्यक्त गर्दै आन्दोलनमा बलिदानी दिएका शहीदको योगदानले राजनीतिक स्थिरता, शान्ति र समृद्धि हुने विश्वासका साथ उनीहरूको चित्त मुक्तिका लागि बौद्ध धर्म परम्परा अनुसार परम पुजनिय धर्मगुरु श्री लोव्साङ नाम्गेल रिन्पोछेज्यूको सानिध्यतामा मणिमोन्लम प्रार्थना तथा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको जानकारी दिए ।


यस्तै, कार्यक्रम बौद्धनाथ महाचैत्य परिसरमा मणिमाेन्लम प्रार्थना दिउँसो १२ बजेर ३० मिनेटदेखि सुरू हुने र दीप प्रज्वलन साँझ ५ बजे हुने आयाेजकले जनाएको छ ।
सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ गते आन्दोलनमा उत्रेका जेन-जी पुस्तामाथि सरकारले निर्मम दमन गरेको थियो । त्यसक्रममा १९ जनाको मृत्यु भएको थियो ।सरकारी दमनको आक्रोशपछि प्रदर्शन हिंसात्मक बन्दा २४ गते देशभर तोडफोड र आगजनी समेत भएको थियो । २३ गतेको आन्दोलन र त्यसपछिका घटनाक्रममा अहिलेसम्म ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, ६ सय भन्दाबढी घाइते छन् भने हजारौं मानिसहरु प्रत्यक्ष प्रभावित भएका छन्, जसले लाखौंको जनजीवनमा ठूलो कठिनाइ सिर्जना भएको छ ।











