काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकले आफूले पद छाड्नुअघिको अन्तिम मन्त्रिपरिषद् बैठकमा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको दाबी गरेका छन् । तर, आफूले राखेको प्रस्ताव मन्त्रिपरिषद्ले ‘निर्णयमा स्वीकार’ नगरे पनि ‘कार्यान्वयनमा भने स्वीकार’ भएको बताए ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले भने, “भदौ २३ गतेको मन्त्रिपरिषद्‌मा मेरो सरकारमा अन्तिम दिन थियो । मेरो राजीनामा हुँदै गर्दा एउटा प्रस्ताव स्वीकार होस् भनेर सामाजिक सञ्जालको प्रतिबन्ध फुकाउन प्रस्ताव गरेको थिएँ,” लेखकले भने, “त्यसलाई निर्णयमा स्वीकार गरिएन तर, कार्यान्वयनमा भने स्वीकार भएको छ ।”

बैठकमा उनले जेनजी आन्दोलनमा भएको मानवीय क्षतिबारे पनि धारणा राखे । आफूले प्रदर्शनको सुरक्षा योजना बनाउँदा नै संयमित हुन र कुनै पनि मानवीय क्षति नहोस् भनेर स्पष्ट निर्देशन दिएको उनको दाबी छ ।

“घटना घटिसकेपछि हामी स्तब्ध भयौँ । त्यसपछि हामीले सुरक्षा समितिको बैठक गरेर संयम हुनुपर्ने परिस्थिति बनेको निष्कर्ष निकालेका थियौँ र थप क्याजुअल्टी नहोस् भनेर अधिकतम संयमता अपनाउने निर्णय गरेका थियौँ,” उनले भने ।

लेखकले जेनजी आन्दोलनमा ‘घुसपैठिया’ प्रवेश गरेको आरोप लगाउँदै उनीहरूले कांग्रेसविरुद्ध आक्रमण गरेको बताए । उनले विराटनगरको कोइराला निवास र बाँडेगाउँको किशुनजी आश्रममा भएका आक्रमणलाई भ्रष्टाचारविरोधी आन्दोलनमात्रै मान्न नसकिने तर्क गरे ।

लेखकले आन्दोलनका क्रममा धेरै जनाको हताहती भइसकेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै आफूले राजीनामा दिएको बताए ।

“धेरै जनाको हताहत भइसकेपछि त्यसको नैतिक जिम्मेवारी कसै न कसैले लिनुपर्ने भएकाले मैले लिएर राजीनामा दिएको हुँ,” उनले भने ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय