सुरुंगा । ‘जेनजी’ प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुईथान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूका साथबाट दुईथान पेस्तोल र २० राउन्ड गोली बरामद गरेको छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका–६, प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देन, दमक–९ का २६ वर्षीय सरोज पुरी र इलामको चुलाचुली गाउँपालिका–४ का ३० वर्षीय पवन हाङसुङ्वा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


सोमबार (मंसिर ८) राति प्रहरीको संयुक्त टोलीले दमक–८ मा डेरा गरी बसेका सरोज पुरीलाई कोठाबाहिर हिँडडुल गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो । उनका साथबाट ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एकथान र १५ राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानपछि उनलाई इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको थियो । प्रहरीले सोधपुछ गर्दा पुरीले अर्को हतियार विश्व लिङ्देनकहाँ राखेको बयान दिएका थिए । त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गरेको थियो ।
थप सोधपुछमा लिङ्देनले उक्त हतियार इलामका हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकार गरेका प्रहरीको भनाइ छ । पछि लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालयको संयुक्त टोली हाङसुङ्वाको बारीमा पुगेको थियो ।
त्यहाँ खाल्डो खन्दा रातो प्लास्टिकको झोलामा लुकाएर राखिएको अवस्थामा ठूलो चापे टाइप–५४ चाइनिज पेस्तोल एकथान र पाँच राउन्ड गोली पेस्तोलमै लोड गरिएको र खिया लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
हाङसुङ्वालाई समेत नियन्त्रणमा लिएर दमक ल्याइएको छ । बरामद दुवै हतियार र २० राउन्ड गोलीसहित तीनैजनालाई आवश्यक कारबाहीका निम्ति काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । रासस










