रसुवा । रसुवा जिल्लाकाे उत्तरगया गाउँपालिका–१ मा जाडो मौसममा विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा उपलब्ध गराउने उद्देश्यका साथ नेपाली जनप्रगतिशील मञ्च प्रवासी टिमले उत्तरगया गाउँपालिका–२ स्थित श्री गणेश आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ। यस कार्यक्रममा २३ थान स्विटर र टोपीहरू साथै विद्यार्थीहरूका लागि खेलकुद सामग्रीका रूपमा १ थान फुटबल विद्यालय लाई हस्तान्तरण गरिएको हो।
सहयोग सामग्रीहरू उत्तरगया–२ का लोकेन्द्र तामाङकाे माध्यमबाट विद्यालयमा हस्तान्तरण गरिएको थियो। यो अभियानमा प्रवासी नेपालीहरूको उल्लेखनीय योगदान रहेको छ। सहयोगीहरू अस्मि स्याङ्तान तामाङ (उत्तरगया–१, रसुवा हाल दुबई),समिता तामाङ (बेलकोटगढी नगरपालिका–४, नुवाकोट),असिम लोप्चन तामाङ (काभ्रे हाल स्पेन),सञ्जाल किराँती (खोटाङ हाल कोरिया),सुरज किराँती (उदयपुर हाल कोरिया),तथा तारा मिलन मगर (कास्की हाल अमेरिका)रहेका छन्।


सहयोगी टिमले “सेवा नै धर्म हो” भन्ने भावनाका साथ विद्यालयका विद्यार्थीहरूमा प्रेरणा र सहयोगको भावना जगाउने उद्देश्यले यो अभियान सञ्चालन गरेको बताइएको छ।कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।यसबारे जानकारी समिता तामाङले दिनुभएको हो।अभियानको संयोजन युवा अभियन्ता नेपाल पत्रकार महासंघ युरोप शाखाका अशिम लोप्चन तामाङले गरेका थिए ।










