खानीखोला, काभ्रे । खानीखोला गाउँपालिका–१ नं. वडामा ह्रेम्बोर्छे युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगिता स्थानीय परम्परागत धार्ने जात्रा को अवसरमा आयोजना गरिएको हो। प्रत्येक वर्ष पौष पूर्णिमाका दिन धार्ने जात्रा लाग्ने गर्दछ।
खुल्ला भलिबल प्रतियोगिता पुस १४ गते उद्घाटन भई पुस १८ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा स्थानीय युवाहरूको खेलकुद क्षमता अभिवृद्धि, आपसी सद्भाव र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। प्रतियोगितामा जम्मा १८ वटा टिमको सहभागिता रहेको थियो।


प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बा विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। त्यसैगरी युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील), वडा अध्यक्षहरू निसान मोक्तान र बुद्धि बहादुर स्याङ्तान (बाबू), समाजसेवी तथा युवा नेता विरेन्द्र लामा र रामकाजी भोलन ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।
प्रतियोगितामा खानीखोला–६ नं. वडाको टिम विजेता बनेको छ भने गिम्दी युवा क्लब उपविजेता बनेको छ। त्यसैगरी खानीखोला–७ नं. वडा तृतीय र खानीखोला–५ नं. वडाको टिम चौथो स्थान हासिल गर्न सफल भएका छन्।
विजेता टिमले नगद रु. ७१,१११/-, उपविजेता टिमले रु. ४१,१११/-, तृतीय टिमले रु. २१,१११/- र चौथो हुने टिमले रु. ११,१११/- सहित ट्रफी प्राप्त गरेका छन्। साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिएको थियो।
उत्कृष्ट खेलाडी अनिष घिमिरे, बेष्ट स्टाइकर पासाङ वाइबा (खानीखोला–७), बेष्ट सेटर निशान राना मगर (गिम्दी), बेष्ट डिफेन्स कुमार थोकर (खानीखोला–६), बेष्ट ब्लकर कुशल भोलन (गिम्दी) र बेष्ट सर्भर मनराज आले मगर (खानीखोला–६) घोषित भएका थिए।
समापन समारोहका अवसरमा कलाकार निर्मला घिसिङ र लक्ष्मी स्याङ्तान ले गीत प्रस्तुत गरी दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा स्थानीय दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
उक्त भलिबल प्रतियोगिताका लागि खानीखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने समाजसेवी तथा नेता दैवलाल घिसिङ (अनुशील) ले चार वटा भलिबल उपलब्ध गराई सहयोग गर्नु भएको थियो। समापन समारोहको अध्यक्षता वडा नं. १ का अध्यक्ष सन्तमान थिङ ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन ह्रेम्बोर्छे युवा क्लबका अध्यक्ष अभि थिङ ले गर्नु भएको थियो। प्रतियोगिताको संयोजन दीपक गोले ले गर्नु भएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिता शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। आगामी दिनमा पनि यस्ता खेलकुद तथा सांस्कृतिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता आयोजक समितिले व्यक्त गरेको छ।










