खानीखोला (काभ्रे) । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–१ दयागाउँमा अवस्थित श्री देवीस्थान आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि खेलकुद सामग्री सहयोग गरिएको छ।
खानीखोला गाउँपालिका–२ निवासी वाइसियल नेपाल खानीखोला गाउँपालिका सह सचिव समाजसेवी तथा युवा नेता पदम घिसिङको आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई खेलकुद गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले १५ सेट खेलकुद जर्सी वितरण गरिएको हो। दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई खेलकुदमार्फत शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको समाजसेवी घिसिङले बताउनुभयो।


उक्त सहयोग कार्यक्रम सफल बनाउन नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश सचिवालय सदस्य दैबलाल घिसिङ (अनुशील) ले समन्वयको भूमिका निर्वाह गर्नुभएको थियो। जर्सीहरू नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटि काभ्रेका सदस्य विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समाजसेवी तथा युवा नेता विरेन्द्र लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
जर्सी वितरण कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी बागमती प्रदेश कमिटि सदस्य तथा महिला नेतृ सृर्जना थिङ, युवा नेता बुद्ध लामा, युवा नेता दीपक लामालगायत स्थानीय नेता, अभिभावकहरु उपस्थिति रहेको थियो।
ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा खेलकुद सामग्रीको अभाव रहेको उल्लेख गर्दै यस्ता सहयोगले विद्यार्थीहरूमा खेलप्रतिको रुचि बढ्नुका साथै अनुशासन, टिम भावना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका थिए। विद्यालय व्यवस्थापन समितिले सहयोगकर्ताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको छ।
स्थानीय स्तरबाट शिक्षा र खेलकुद क्षेत्रमा भइरहेका यस्ता सकारात्मक पहलहरूले विद्यार्थीहरूलाई हौसला प्रदान गर्नुका साथै समग्र शैक्षिक वातावरण सुधारमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।










