काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–४ बेल्टारमा अवस्थित श्री ज्ञान ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि न्यानो कपडा तथा नगद सहयोग प्रदान गरिएको छ।मिक्स एण्ड म्याच हङकङ (Mix and Match Hongkong) संस्थाको आर्थिक तथा भौतिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरिएको हो।

खानीखोला गाउँपालिका वडा नम्बर–४ का वडा अध्यक्ष निशान मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मिक्स एण्ड म्याच हङकङ संस्थाबाट ५० हजार रुपैयाँ नगद तथा ३० सेट न्यानो कपडा सहयोग गरिएको विद्यालयले जनाएको छ। सहयोग कार्यक्रमको समन्वयसमेत वडा अध्यक्ष मोक्तानले गर्नुभएको थियो।

कार्यक्रममा मिक्स एण्ड म्याच हङकङ संस्थाका प्रतिनिधि समाजसेवी रेस पुरीको विशेष उपस्थिति रहेको थियो। सो अवसरमा बोल्दै पुरीले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। “शिक्षा नै समाज परिवर्तनको मूल आधार हो, त्यसैले दुर्गम भेगका विद्यार्थीहरूलाई सानो सहयोगले पनि ठूलो हौसला मिल्छ,” उहाँले भन्नुभयो।

कार्यक्रमलाई सफल बनाउन खानीखोला गाउँपालिका शिक्षा शाखाका सहजकर्ता होमबहादुर वाइबा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर थोकर, विद्यालयका प्रधानाध्यापक भीमबहादुर थोकर लगायत शिक्षक, अभिभावक तथा व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। एक औपचारिक कार्यक्रमबीच विद्यार्थीहरूलाई न्यानो कपडा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले ग्रामीण तथा दुर्गम भेगका विद्यालयहरूमा जाडो समयमा न्यानो कपडाको अभाव रहेको उल्लेख गर्दै यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थितिमा सुधार ल्याउने, सिकाइप्रतिको रुचि बढाउने र आत्मविश्वास विकासमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए। साथै यस्ता पहलहरूले विद्यार्थीहरूमा अनुशासन, टिमवर्क तथा नेतृत्व क्षमताको विकासमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिले सहयोगी संस्था मिक्स एण्ड म्याच हङकङ तथा समन्वयकर्ताहरूप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको निरन्तरता रहने अपेक्षा गरेको जनाएको छ। स्थानीय स्तरबाट शिक्षा क्षेत्रमा हुने यस्ता सहयोगात्मक पहलहरूले विद्यार्थीहरूलाई थप हौसला प्रदान गर्नुका साथै समग्र शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय