युएई । गायक तथा संगीतकार बिशाल काल्तानले तामाङ समाज युएई अबुधाबीको ल्होछार विशेष सांस्कृतिक कार्यक्रममा स्टेज तताउने भएका छन्। तामाङ समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस कार्यक्रममा काल्तानको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । नेपालका युवामाझ लोकप्रिय बन्दै गएका बिशाल काल्तानले तामाङ सेलो, तथा लोकधुनलाई मिश्रण गर्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
ल्होछार तामाङ समुदायको प्रमुख पर्व हो, जसले नयाँ वर्षको आगमनसँगै सुख, शान्ति र समृद्धिको कामना गर्दछ । यही अवसरमा युएईमा बसोबास गर्ने नेपाली,दाजुभाइ तथा दिदिबहिनीहरु विशेष गरी तामाङ समुदायलाई एकजुट गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लगिएको हो। कार्यक्रममा सांस्कृतिक नृत्य, परम्परागत भेषभूषा, मौलिक गीतसंगीत तथा विविध प्रस्तुति समावेश गरिनेछ। बिशाल काल्तानको ऊर्जाशील प्रस्तुति कार्यक्रमको मुख्य आकर्षणका साथै प्रबेग दोङ र अभि तामाङको पनि मनोरञ्जन हुने विश्वास लिइएको छ ।


अबुधाबीको ल्होछार कार्यक्रममा उनी स्टेज तताउन तयार रहेको खबरले दर्शकमा उत्साह थपिएको छ।
तामाङ समाज युएई अबुधाबीले हरेक वर्षझैँ यस वर्ष पनि भव्य रूपमा ल्होछार मनाउन तयारी पुरा गरेको छ । कार्यक्रम सफल बनाउन विभिन्न सामाजिक संघसंस्था, व्यवसायी तथा समुदायका अगुवाहरूको सक्रिय सहयोग रहेको तामाङ समाज युएई अबुधाबीका उपाध्यक्ष श्याम तामाङले बताइएको छ। आयोजकका अनुसार यस कार्यक्रमले प्रवासमा रहेका नेपालीबीच आपसी सद्भाव, एकता र सांस्कृतिक चेतना बढाउने विश्वास लिइएको ।
ल्होछार कार्यक्रम जनावरि १७ तारीखमा सुडानिज सोसियल क्लब अबुधाबीमा हुने आयोजक टिमले जानकारि दिएको छ ।










