खानीखोला (काभ्रे)। खानीखोला गाउँपालिका–४ स्थित खुशी समाज युवा क्लबलाई खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले जर्सी तथा फुटबल हस्तान्तरण गरिएको छ।
समाजसेवी तथा युवा नेता दैवलाल घिसिङ (अनुशील) को पहलमा क्लबका खेलाडीहरूका लागि १५ थान जर्सी र २ थान फुटबल प्रदान गरिएको हो। जर्सीहरू क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष श्याम कार्कीले पनौती नगरपालिका–८ का वडा सचिव तथा समाजसेवी भगवान बस्नेतको समन्वयमा उपलब्ध गराउनुभएको हो। त्यसैगरी, समाजसेवी तथा युवा नेता, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष विरेन्द्र लामाले दुई थान फुटबल सहयोग गर्नुभएको हो।


खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता दैवलाल घिसिङ (अनुशील), क्षेत्री समाज काभ्रेका अध्यक्ष संगम थापा, पनौती प्रहरी चौकीका इञ्चार्ज रामबहादुर कार्की, पनौती–८ का वडा सचिव भगवान बस्नेत, प्रहरी हल्दार रमेश भट्टराई, समाजसेवी सृजना थिङ, राजन अधिकारी, विजय जिम्बा, डिबी लामा र विकास लामालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममार्फत खेलकुद सामग्रीहरू खुशी समाज युवा क्लबका अध्यक्ष इकमान लामालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। कार्यक्रममा बोल्ने वक्ताहरूले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्दै अनुशासन, स्वास्थ्य र सामाजिक एकता मजबुत बनाउन यस्ता सहयोगहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका थिए।










