महाभारत/काभ्रे । कुनै समय अर्थात स्थानीय तह कार्यान्वयन आउनु अघि २०७४ सालसम्म महाभारत गाउँपालिका सडक सञ्जाल लगायतका सेवाबाट बञ्चित थियो । तीन तहका सरकार संचालन भए सँगै संघीयताको पूर्ण उपयोग र अनुभव विकट पालिका महाभारतबासीले गरेका छन् । जसको पछिल्लो उदाहरण महाभारत गाउँपालिकाको केन्द्र देविटार देखि मधेश प्रदेशको बारा निजगढसम्म नियमित बस सेवा संचालन हुन थालेको छ । जसका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वयका साथै सडक निर्माण गरेको छ ।

‘केहि दिन देखि हामीले परिक्षण सेवा संचालन गरेका थियौं । नेपाल सरकारबाट उक्त क्षेत्रको रुट परमिट अनुमति लिएसँगै आईतबार माघ १८ गते विहान ७ बजेबाट सेवा शुभारम्भ गर्नेछौं’–काभ्रे बस सेवा प्रालीका अध्यक्ष बर्ण शाक्यले भने–‘उक्त रुटमा नियमित बस सेवा संचालनका लागि महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ लगायत मकवानपुर, सर्लाही, बारा जिल्लाका गाउँपालिकाहरुले सहयोग र समन्वय गरेका छन् ।’

बनेपा–देविटार नियमित बस सेवा संचालन भएको छ । देविटार–निजगढ बस सेवा संचालनका लागि आवश्यक प्रकृया पुरा भए पछि औपचारिक शुभारम्भको तयारी गरिएको हो । करिव १ सय २० किलोमिटर दुरी रहेको उक्त रुट पार गर्न ७ घण्टा लाग्नेछ । महाभारतको देविटारबाट विहान ७ बजे छुटेको बस दिउसो २ बजे निजगढ पुग्नेछ । निजगढबाट देविटारका लागि पनि विहान ७ बजे नै बस छुट्ने छ । दैनिक सेवा सूचारुका लागि पहिलो पटक १० वटा बसको रुट परमिट अनुमति लिएको काभ्रे बस सेवा प्रालीका सचिव कबिर रञ्जितले बताए ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारतको देविटारबाट मधेश प्रदेशको निजगढ बारासम्म बस सेवा शुरु हुँदा महाभारतको विकटता सहजतामा परिणत भएको बताए । ‘बागमती प्रदेशको विकट पालिका भित्र महाभारत पनि पर्छ । जसको केन्द्र देविटारबाट गोकुल धाप हुँदै खानीखोला गाउँपालिकाको ताल्ढुङ्गा हुँदै मकवानपुर जिल्लाको झुरझुरे, हरिहरपुराको बफर हुँदै सर्लाही जिल्लाको बागमती चपुर पछि बारा जिल्लाको निजगढसम्म पुग्नेछ । चार जिल्ला दुई प्रदेशको केन्द्र देविटारबाट छुट्ने बस सेवा नियमितताका लागि काभ्रे बस सेवा प्रालीले आवश्यक सहजिकरण गर्नेछ ।

स्थानीय सरकार निर्वाचित भए लगत्तै महाभारतका विभिन्न वडाहरुमा पुग्ने पक्कि सडक निर्माणको कार्य जारी छ । बिपी राजमार्ग देखि मकवानपुर पुग्ने जनमुक्ति मार्ग निर्माणको कार्य धमाधम भईरहेको छ । तीनखुट्टे देखि देविटार पुग्ने ८ किमी पक्कि सडक निर्माण कार्य जारी छ । पक्कि पुल, सडक, विद्यालय भवन, विजुली, स्वास्थ्यका लागि अस्पताल तथा स्वास्थ्य संस्था निर्माणका कार्य द्रुत गतिमा सम्पन्न भएका छन् । केहि निर्माणको चरणमा छन् । अँध्यारोबाट उज्यालो तर्फ लम्किरहेको महाभारतका लागि देविटार केन्द्र हुँदै निजगढसम्म नियमित बस सेवा सञ्चालन हुँदा थप लाभान्वित हुने अपेक्षा गरिएको छ ।

विकाससँगै आयआर्जन बृद्धीका लागि पालिकाले ब्यवसायीक रुपमा कृषि तर्फ कफी तथा पशुपालनलाई प्राथमिकतामा राखेका अध्यक्ष कान्छालाल जिम्बाले बताए । विद्युत्त सेवा र इन्टरनेटको प्रयोगबाट स्थानीयहरुलाई प्रविधिमा समेत पहुँच पु¥याउँदै उत्पादन र बजारीकरणमा समेत सहजता हुने उनले बताए । संघीयताको पूर्ण अभ्यास र उपयोग महाभारतले गरे पनि निर्माण ब्यवसायीको चरम लार्पवाहीका कारण विनियोजित बजेट र आयोजनाहरु समयमै सम्पन्न नहुँदा नागरिकहरुले त्यसको उपयोय अझै गर्न सकेका छैनन । शुशासनमा समेत हरेक वर्ष शुन्य बेरुजु, स्वास्थ्य सेवामा तोकिएको मापदण्ड पुरा गरी उत्कृष्ट पालिका तथा अन्य क्षेत्रमा समेत पुरस्कृत हुँदै आएको महाभारत क्रमश सुगमता तर्फ लम्किरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय