काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई पोखराको २० रोपनी जग्गा प्रकरणबारे पत्रकार सम्मेलन गरेर जवाफ दिन आग्रह गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत प्रतिपक्षी दलका हिसाबले गृहमन्त्रीसँग मागिएको जवाफ व्यक्तिगत नभएर जनताको भएको बताएका छन् । उनले जीबी राई पक्राउ गरेर रवि लामिछानेलाई न्याय दिनु पर्ने, भदौ २४ गतेको घटनाको पनि छानबिन हुनुपर्ने सरकारका दुई कार्यभारमा पोखराको जग्गा प्रकरण जोडिएकाले तत्काल जवाफ दिनु पर्ने बताएका छन् ।


उनले फेसबुकमा लेखेका छन्, ‘प्रिय सुदन गुरुङज्यू, तपार्इं देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन । मलाई ‘हर्क दाइ’ भन्नु हुन्छ । त्यो साइनोले ‘भाइ हो तपाइँ मेरो’ मलाई ‘हर्कजी’ भन्नु हुन्छ । त्यो अर्थमा ‘साथी हो तपाइँ मेरो ।’ तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ ‘माननीय गृहमन्त्रीज्यू’ हुनुहुन्छ ।’
उनले भनेका छन्, ‘तपाईंले जेन्जी आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो, धन्यवाद सबैले दिएका छन् । गलत काम गर्नेहरुको लिस्ट बनाएर कारबाही गर्दै हुनुहुन्छ । धन्यवाद छ । तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होलाः जेन्जी आन्दोलनको भदौ २४ गतेको घटनाको दोषीलाई कारबाही र जीबी राईलाई पक्रेर रबि दाईलाई न्याय दिने ।’
उनले भनेका छन्, ‘काम गर्ने मान्छेको खुट्टा तान्छन्, अपजस पाइन्छ नै । तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपार्इंको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिँदा नमज्जा लागेको छ । खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपार्इंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् ।’
‘यसपछि मात्रै गृहमन्त्रीलाई बधाई दिनेछु,’ उनले भनेका छन् ।











