काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले चैतमा एक हजार १ सय ६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २ सय १४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५ सय ६४ र अन्य अपराधका ३ सय ४२ मुद्दा छन् ।
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४ सय ८८ रुपैयाँ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।


यसैगरी, परिसरले हुण्डी कारोबार नियन्त्रणलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउँदै चैत महिनामा तीन वटा मुद्दामा सात जनालाई प्रतिवादी बनाएको छ । मुद्दामा एक करोड ५६ लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ ।
प्रहरीले नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डी तथा अभौतिक मुद्राको कारोबार गर्ने दुई जनालाई एक करोड १६ लाख रुपैयाँ बराबरको नगद र अन्य सामानसहित पक्राउ गरेको उल्लेख गरेको छ । उनीहरूलाई नियन्त्रणमा लिई अभौतिक मुद्रा र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
यसैगरी, काठमाडौँ महानगरपालिका २६ ठमेलबाट १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार गर्ने चिनियाँ नागरिकलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
यस्तै, एक महिनाको अवधिमा हराएका २ सय ७३ मानिसमध्ये १ सय ५९ जना फेला पारेर परिवारको जिम्मा लगाइएको छ । विवरणअनुसार साइबर अपराध तथा ठगीतर्फ २ सय ६१ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये अनलाइन सपिङका नाममा भएका ठगीसँग सम्बन्धित एक सय मुद्दा छन् ।










